२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

भाइरल बनेकाे एउटा भावुक तस्बिर, बसकाे सिटमै निधन भएकी आमाको काखमा बालक

- विशेष खबर शनिबार ०५, भदौ २०७८ १२:२७

भाइरल बनेकाे एउटा भावुक तस्बिर, बसकाे सिटमै निधन भएकी आमाको काखमा बालक

नेपालगन्ज । शुक्रबारदेखि फेसबुकमा एउटा कारूणिक तस्बिर भाइरल भएकाे छ । दुधेबालक काखीमा च्यापेकी महिलाले बसको सिटमै प्राण त्यागेकी छन् । हजाराैं फेसबुक प्रयोगकर्ताहरूले अहिले यो फोटो शेयर गर्दै श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।  

उपचारका लागि नेपालगन्ज जान रूकुम पश्चिमकाे आठबिसकोट नगरपालिका- ९ की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरणसहित राडी भन्ने ठाउँबाट बस चढिन्। उनका श्रीमान् दलबहादुर बटाला नेपालगञ्जमा काम गर्छन् । घरसल्लाह गरेर उपचारका लागि धर्माकुमारी नाबालक छोराका साथ बस चढेकी थिइन्।

माइती घर डडेलधुरा भएकी उनी स्थानीय अस्पताल र मेडिकलबाट उपचार गराउँदा पनि निकाे नभएपछि नेपालगन्ज हिँडेकी थिइन् । बिहीबार साँझ बस चढेपछि धर्मकुमारी श्रीमान् दलबहादुरसँग निरन्तर सम्पर्कमा थिइन्। बेलुका साढे ५ बजे हिँडेको गाडी अर्कौ दिन बिहान साढे ५-६ बजेतिर मात्रै कोहलपुर पुग्छ।  

बोटेचौर भन्ने ठाउँमा आइपुगेपछि धर्माकुमारीले दुई/तीन पटक वान्ता गरिन्। राति बर्दियाको हरिया लेक आइपुग्दा एकाएक दुधे बालक किरण रोएको आवाज सुनियाे । बच्चा राेएकाे देखेर यात्रुहरूले धर्माकुमारीलाई उठाउन खोज्दा पनि उनी उठिनन् ।  

धर्माकुमारी बसको सिटमै कहिलै नउठ्ने गरि सुतिसकेकी थिइन्। रोइरहेको बच्चालाइ बसका यात्रुले पालैपालो समातेर भुलाएका थिए। उनीहरूले केहीबेर बालकलाइ मृत आमाकै काखमा पनि राखेका थिए । शुक्रबार बिहान नेपालगञ्जमा कुरेर बसेका दलबहादुर एकाबिहानै श्रीमतीलाई सदाको लागि गुमाउनु परेको खबर सुनेपछि बिक्षिप्त भए ।  


प्रतिकृया दिनुहोस