२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

जापानले ५ क्षेत्रमा संकटकाल जारी राख्ने

सोमबार ३२, साउन २०७८ ०९:५१

जापानले ५ क्षेत्रमा संकटकाल जारी राख्ने

एजेन्सी । जापानी सरकारले टोकियो सहरसहितका पाँच प्रशासनिक केन्द्र (प्रिफेक्चर) मा कोभिड–१९ नियन्त्रणका लागि जारी सङ्कटकाललाई लम्ब्याउन निर्णय गरेको जापानको राष्ट्रिय पत्रिका असाहीले जापानी अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ । जापानले मङ्गलबारदेखि थप तीन प्रिफेक्चरमा महामारी नियन्त्रणका लागि भन्दै सङकटकाल घोषणा गरेको हो । 

यद्यपि यस निर्णयलाई मंगलबार विज्ञपरिषद्सँगको परामर्शपछि सरकारी कोरोनाभाइरस प्रतिरोधका लागि गठित निकायको बैठकमार्फत् औपचारिकता दिइने बताइएको छ । 

कोभिड–१९ सङ्क्रमणका घटनामा हालै देखिएको वृद्धि रोक्नको लागि सरकारले मङ्गलबारदेखि टोकियो, ओकिनावा, साइतामा, चिबा, कानागावा, ओसाकाका प्रिफेक्चरमा सेप्टेम्बर १५ सम्मका लागि सङ्कटकाल अवधि लम्ब्याउने बताएको असाहीले आफ्नो समाचारमा उल्लेख गरेको छ । 

यसअघिको निर्णय अनुसार यी क्षेत्रमा अगस्ट ३१ रातिदेखि स्वास्थ्यजन्य सङ्कटकालीन अवस्था समाप्त हुने बताएको थियो । जापानमा पहिलेभन्दा थप तीन प्रिफेक्चरहरू, क्योटो, ह्योगो र फुकुओकामा आपतकालीन अवस्था घोषणा गरिएको छ । यी क्षेत्रमा हाल हल्का प्रतिबन्धहरू मात्र लागू भएका थिए । 

टोकियोमा दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै पाँच हजारको हाराहारीमा पुगेपछि सरकारले टोकियोसहितका प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्यजन्य सङ्कटकालीन अवस्थाको घोषणा गर्न लागेको हो । 

गत साता देशभर कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्या पहिलो पटक २० हजारभन्दा बढी पुगेको थियो  ।विशेषज्ञहरूले सङ्क्रमण वृद्धिको अवस्था एकदमै चिन्ताजनक अवस्थातर्फ गएको सुझाब सरकारलाई दिएको बताइएको छ ।

ओकिनावामा गम्भीर लक्षणहरू भएकाहरूको लागि अस्पतालको व्यवस्था गरिएका निःशुल्क शैयाको अभाव देखिएको छ भने सोमबार पहिलो पटक गम्भीर अवस्थामा भएका बिरामीहरूको संख्या एक हजार ६०० भन्दा बढी पुगेको छ । 


प्रतिकृया दिनुहोस