२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

अफगानिस्तानका राष्ट्रपतिले देश छाडे, तालिबान लडाकू काबुलमा

आइतबार ३१, साउन २०७८ १०:२७

अफगानिस्तानका राष्ट्रपतिले देश छाडे, तालिबान लडाकू काबुलमा

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आइतबार देश छाडेकाे बताइएको छ । विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेको स्थानीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् ।  

प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उनले देश छोडेर ताजिकिस्तान गएकाे जनाइएको छ ।

उनीसँगै उपराष्ट्रपति अमरुल्लाह सलेह पनि देश छाडेका विवरणहरु आएको बीबीसीले जनाएको छ । 

 

 

 

 

 

 

 

अफगान राष्ट्रपति असरफ घानी । 

 

उनकाे साथमा उनका नजिकका केही मानिसहरुले पनि अफगानिस्तान छोडेका छन् । उनीहरुका बारेमा विस्तृतमा केही बताइएको छैन ।

तालिबान समूहले देशका अधिकांश प्रान्तहरुमा कब्जा जमाएपछि राष्ट्रपति घानीलाई राजीनामाको दबाब आएको थियो ।अफगानिस्तानबाट अमेरिकी सेनाले फिर्ता भएसँगै १० दिनयता तालिवान समूहले देशका अधिकांश भागमा कब्जामा लिएको छ ।

तालिबान विद्रोहीका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटर मार्फत राजधानी काबुलस्थित जिल्ला प्रहरी कार्यालय पनि नियन्त्रणमा लिइसकिएको बताएका छन् ।

यसबारेमा घानी सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया भएको छैन । आइतबार दिउँसैदेखि तालिबानी लडाकूहरु राजधानी काबुल प्रवेश गरेका थिए ।

तर, आइतबार दिउँसोसम्म पनि राष्ट्रपतिको कार्यालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो । सरकारी अधिकारीहरुले स्थिति नियन्त्रणमा नै रहेको दाबी गरेका थिए । 

राष्ट्रपतिको कार्यालयले ट्वीटरमा लेखेको थियो, 'काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन । सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरूले विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ ।'

तालिबान समूहले भने काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो । विद्रोहीहरुले देशका अन्य भागलाई आफ्नो नियन्त्रणमा लिन थालेपछि हजारौँ मानिस शरणका लागि काबुल आएका थिए । 


प्रतिकृया दिनुहोस