२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

कक्षा १२ काे परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सुझाव

- विशेष खबर शुक्रबार २२, साउन २०७८ ०७:०५

कक्षा १२ काे परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेकोले तत्काल परीक्षा नगर्न सीसीएमसी र शिक्षा मन्त्रालयलाई सुझाव दिएको छ ।

कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक भइसकेको छ । स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँगको छलफलपछि परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने सुझाव दिएको हो । मृत्युदर १.५ र संक्रमितको दर बढेकोले परीक्षा सञ्चालन नगर्नुपर्ने स्वास्थ्य मन्त्रालयको अडान छ ।

बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र  केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो ।

तर पछिल्लो दिनमा संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ । मन्त्रालयले शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न दिइएको अनुमति पुनर्विचार गर्न आग्रह गरेको थियो ।

त्यही अनुसार सीसीएमसीले शिक्षा मन्त्रालय पत्र पठाएको छ भने मन्त्रालयले परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

स्रोतका अनुसार मन्त्रालयले शुक्रबार ४ बजे नै बैठक राखेर निर्णय गर्न निर्देशन दिएको थियो । तर परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने भोलि शनिबार ११ बजे बैठक राखेका छन् ।

 


#परिक्षा #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस