२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

कोरोना विरुद्धकाे खोप लगाउने व्यक्तिलाई अमेरिकाले एक सय डलर दिने

एजेन्सी शुक्रबार १५, साउन २०७८ ०६:११

कोरोना विरुद्धकाे खोप लगाउने व्यक्तिलाई अमेरिकाले एक सय डलर दिने

न्युयाेर्क। अमेरिकामा संक्रमण फैलिने क्रम बढिरहेपनि खोप लगाउने दर भने कम भएको छ । 

खोप लगाउनेहरुको संख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने जनाएको छ ।

राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्य सरकारहरुलाई पनि आह्वान गरेका छन् । 

उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि यो व्यवस्था लागू हुने बताएका छन् । अमेरिकामा सङ्घीय सरकारका निकायहरूमा मात्रै करिब २० लाख मानिस काम गर्छन् ।

बाइडेनले जारी गरेकाे निर्देशनमा अबदेखि कर्मचारीहरुले खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको उल्लेख छ । त्यसैगरी सबै कर्मचारीले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने र मास्क लगाउनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख गरिएको छ।

बढी संक्रामक डेल्टा भेरियन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको अमेरिकामा हालसम्म आधा जनसङ्ख्याले मात्र खोपको मात्रा पूरा गरेका छन । खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टले बढी असर गर्ने गरेकाले खोप लगाउन सरकारले सवैलाई आग्रह गरेको छ । खोप लगाउन प्रेरित गर्नेगरी अहिले लागू गरिएको नगद रकम दिने व्यवस्थाले पहिले नै खोप लगाइसकेकालाई भने अन्याय हुने टिप्पणी पनि भएको छ । 

अमेरिकी राष्ट्रपति वाइडेनले भने सार्वजनिक हितका लागि भएकाले यसलाई अन्यथा मान्न नहुने बताएका छन् । “जति धेरै मानिसले खोप लगाउँछन्, कोरोना भाइरसको महामारीबाट हामी उतिनै बढी सुरक्षित हुन्छौँ, त्यसैले यसको फाइदा सवैलाई हुने भएकाले खोप लगाउन प्रेरित गर्नु हामी सवैका लागि हितकर छ”, वाइडेनले भने । 

गत महिना अमेरिकामा गरिएको एउटा अध्ययनले ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिहरुको भएको देखाएको थियो ।


#अमेरिका #जो बाइडेन

प्रतिकृया दिनुहोस