२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

सोमबारदेखि मनसुन फेरी सक्रिय हुने

- विशेष खबर आइतबार १०, साउन २०७८ ०४:०४

सोमबारदेखि मनसुन फेरी सक्रिय  हुने

काठमाडौं । सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक विस्तारै आउने क्रम सुरु भएकाले सोमबारदेखि  मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

'आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्‍ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो,' मौसमविद् पौडेलले भने । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


#मनसुन #वर्षा #मौसम विज्ञान विभाग

प्रतिकृया दिनुहोस