२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

पहिराले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो

- रासस आइतबार १०, साउन २०७८ ०८:२५

पहिराले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो
पहिराे खसेर थुनिएकाे खुर्जा खाेला क्षेत्र । फाइल तस्बिर

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ ।

गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । 

'तलाउ भरिएर माथिबाट बग्न थालेको हो,' उनले भने, 'थप जोखिमको अवस्था अध्ययनका लागि आज बिहानै पहिरो गएको ठाउँतर्फ हिँडेका छाैं ।' तलाउ एकैपटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाइएको छ ।  

गुर्जा हिमालको फेदीमा मुहान भएको गुर्जाखोला म्याग्दी नदीको सहायक खोला हो । धवलागिरि–४ मुदीमा गुर्जाखोला म्याग्दी नदीमा मिसिन्छ । सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ । पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिँड्नुपर्छ । दुवै किनारमा भिर भएको साँघुरो खोँचमा पहिरो खसेर खोला थुनिएको खेतमा काम गर्न गएका किसानले देखेपछि खबर गरेका थिए ।

पहिरो गएको र तलाउ बनेको ठाउँसम्म पुग्ने बाटो छैन । किसानले टाढैबाट देखेर खबर गरेका हुन् । केही समय खोला सुकेको थियो । धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिका भएर म्याग्दी नदी बग्छ ।

चारवटै स्थानीय तहको तटीय क्षेत्रका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । (रासस)


प्रतिकृया दिनुहोस