२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

एकल पुरुषको भत्ता बृद्धि

- रासस शनिबार २६, असार २०७८ ०९:४७

एकल पुरुषको भत्ता बृद्धि

बैतडी । बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ ।  जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ ।

यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । 

नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई सो भत्ता दिँदै आएको छ । उनले भने,'एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका  हौं ।' मेलौलीमा ८८ जनाले उक्त भत्ता लिएका छन् । 

यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ । आमाबुवा दुवै गुमाएका बालबालिकाको सहयोगका लागि भन्दै गएको तीन वर्षयता टुहुरा बालबालिकालाई पनि भत्ता प्रदान गरिँदै आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा आमाबुवा दुवै गुमाएका अहिले १९ बालबालिका रहेका र उनीहरुलाई मासिक भत्ता दिँदै आएको उपप्रमुख ओझाको भनाइ छ । 

टुहुरा बालबालिकाको शिक्षादिक्षमा सहज होस भनेर भत्ता दिएको नगरप्रमुख कृष्णसिंह नायकले बताए । भत्ता पाउँदा जीवनयापन सहज भएको वडा नं ९ का एकल पुरुष शङ्करदत्त भट्टले बताए। मेलौलीले २०७५ सालबाट सो भत्ता दिन थालेको हो । (रासस)


#बैतडी #मेलौली नगरपालिका

प्रतिकृया दिनुहोस