२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

हाइटीका राष्ट्रपति मोइजको गोली हानी हत्या

एजेन्सी बिहिबार २४, असार २०७८ १०:२४

हाइटीका राष्ट्रपति मोइजको गोली हानी हत्या
तस्बिरः बिबिसि

पोर्ट-अ-प्रिन्स । हाइटीका राष्ट्रपति जोभनेल मोइज निजी निवासमा गरिएको आक्रमणमा मारिएका छन् । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले एक वक्तव्य जारी गर्दै मोइज हतियारधारीको आक्रमणमा बुधबार मारिएको पुष्टि गरेका हुन् । 

राजधानी पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपति निवासमा स्थानीय नेपाली समयअनुसार बुधबार बिहान करिब ११ बजे अज्ञात हतियारधारीले गरेको आक्रमणमा मोइजको ज्यान गएको अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बताए । आक्रमणमा प्रथम महिला घाइते भएकी छन् । अमेरिकाका लागि हाइटीका राजदूत बोचित एडमन्डले प्रथम महिलाको अवस्था गम्भीर रहेको जनाउँदै उपचारका लागि अमेरिकाको फ्लोरिडा लगिएको छ ।

प्रधानमन्त्री जोसेफले ‘राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको’ बताएका छन् । उनले देशव्यापी संकटकालको घोषणा गर्दै नागरिकहरूलाई शान्त रहन आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै जोसेफले ‘हत्यारालाई कानुनी कारबाही गर्ने’ जनाउँदै देशको सुरक्षा स्थिति नियन्त्रणमा रहेको बताएका छन् ।

पछिल्लो समय हाइटमा राजनीतिक अस्थिरता बढ्दै गएको थियो । मोइजले नयाँ प्रधानमन्त्रीका रूपमा नाम घोषणा गरेका एरियल हेनरीले भने शपथ लिइसकेका थिएनन् । घटनापछि छिमेकी डोमिनिकन रिपब्लिकले हाइटीसँगको सीमा बन्द गरेको छ ।

५३ वर्षीय जोभनेल मोइज सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए । तर पछिल्लो समय विरोधीहरूले उनको राजीनामा माग गर्दै आएका थिए । भ्रष्टाचार अभियोगहरूका कारण उनको लोकप्रियता ओरालो लागेको थियो र उनले सरकारविरोधी हिंसात्मक विरोध प्रदर्शनहरूको सामना गर्दै आएका थिए । यसै वर्षको सुरुमा राजधानी र देशका अन्य सहरमा उनको राजीनामाको माग गर्दै व्यापक प्रदर्शनहरू भएका थिए ।


#हाइटी #आक्रमण #राष्ट्रपति जोभनेल मोइज

प्रतिकृया दिनुहोस