२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

अधिकांश स्थानमा वर्षा हुने, सतर्क रहन महाशाखाको अनुरोध

शनिबार १९, असार २०७८ ०८:०८

अधिकांश स्थानमा वर्षा हुने, सतर्क रहन महाशाखाको अनुरोध

काठमाडाैं । शनिबार देशका अधिकांश स्थानमा वर्षा हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा  हुनसक्ने छ।

त्यस्तै प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

शनिबार देशका अधिकांश स्थानमा बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । आज राति प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

शनिबार बिहानैदेखि प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । त्यस्तै प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आइतबार देशभर बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकीका धेरै र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भने अति भारी वर्षाको सम्भावना छ ।

सोमबार देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकभरका १७ राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका छन्। सडक विभागका अनुसार बाढी पहिरोले क्षति पुर्‍याएर अवरुद्ध भएका ५३ राजमार्गलाई शनिबार विहानसम्ममा एकतर्फी सञ्चालनमा ल्याइएको छ। डुम्रे-बेशीसहर-चामे-मनाङ सडक अवरुद्ध भएको छ।

त्यस्तै सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गपनि अवरुद्ध रहेको विभागले जनाएको छ। बालाजु-त्रिशुली-धुन्चे-स्याफ्रुबेसी सडक खण्डपनि अवरुद्ध रहेको छ। त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न स्थानमा आएको पहिरोका कारण सडक अवरुद्ध बनेको छ। कान्ति राजपथको जीतपुरमा पहिरोले बाटो अवरुद्ध भएको छ।

विभागका अनुसार मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत चार किलो, चाैध किलो र बीस किलोमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ। त्यस्तै विपी राजमार्ग पनि विभिन्न स्थानमा आएको पहिरो र बाढीका कारण सडक अवरुद्ध रहेको विभागले जनाएको छ।


प्रतिकृया दिनुहोस