२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

मनसुनजन्य विपदबाट २६ जिल्ला प्रभावित, २७ जनाको मृत्यु, २६ अझै बेपत्ता

- रासस बुधबार १६, असार २०७८ ०९:१७

मनसुनजन्य विपदबाट २६ जिल्ला प्रभावित, २७ जनाको मृत्यु, २६ अझै बेपत्ता
फाइल तस्बिर

काठमाडाैं । मुलुकमा यसपाली मनसुन शुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको भारी वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ । बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भएको छ ।  

गृह मन्त्रालयका अनुसार हालसम्म विपदबाट मुलुकभर २७ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् । अन्य १९ जना घाइते भएकाे गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए । उनका अनुसार कुल ४६२ घर पूर्ण क्षति भएको र ११० घरमा आंशिक क्षति भएको छ । 

बाढी र पहिरोबाट प्रभावित भएकामध्ये एक हजार ६०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट कूल २६८ जना र सबै सुरक्षाकर्मीको प्रयासमा ४००  भन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । यसपाली बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्लामा हेलिकप्टरमार्फत राहत पुर्याइएको थियो ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रको निजी आवास पुनःनिर्माणलाई उच्च प्राथमिकता दिइएको छ । त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय भएर लागेको मन्त्रालयले जनाएको छ । 

अर्थ मन्त्रालयबाट अहिलेसम्म तीन हजार ९४९ लाभग्राहीको निजी आवास पुनःनिर्माणका लागि १९ करोड ९७ लाख ७३ हजार रकम वितरण गरिसकिएको छ । सोही प्रयोजनका लागि अर्थ मन्त्रालयबाट प्राप्त १० करोडमध्ये नुवाकोट जिल्लाबाट लाभग्राहीलाई अनुदान स्वरुपको वितरण कार्य प्रारम्भको तयारी गरिएको मन्त्रालयले बुधबार सूचना जारी गरी जनाएको छ ।

यसवर्ष मात्रै सोही प्रयोजनका लागि दुई करोड ८६ लाख विनियोजन भएको र सो वितरण प्रक्रियामा रहेको मन्त्रालयको भनाइ छ । मनसुनजन्य विपदबाट बपत्ता भएकाको खोजीलगायत जनधनको क्षतिको यथार्थ मूल्याङ्कन गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय क्रियाशील रहेको जनाइएको छ ।

मन्त्रालयले निरन्तर वर्षा भइरहेकाले जोखिममा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले खोज ,उद्धार तथा राहतलगायत कार्यमा खटिने सबै निकाय र प्रतिनिधिलाई धन्यवादसमेत दिएको छ । 


प्रतिकृया दिनुहोस