२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

उदयपुरका थप ८ जनामा कोरोना आशंका, परीक्षणका लागि धरान लगियाे

मङ्गलबार ०९, बैशाख २०७७ ०१:०६

उदयपुर । कोरोना भाइरस संक्रमणकाे आशंकामा स्वाब संकलन गरिएकामध्ये ८ जनाको रिर्पोट शंकास्पद देखिएपछि थप परीक्षणका लागि धरान पठाइएको छ । 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयवेन्द्र यादवको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले बैशाख ६ गते संकलन गरेको ६९ जनामध्ये ८ जनामा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो । 

विराटनगरस्थित पीसीआर ल्याबमा ८ जनाको परीक्षण रिर्पोट शंकास्पद आएपछि उनीहरुलाई थप परीक्षणका लागि मंगलबार करिब ११ बजे एम्बुलेन्सबाट धरान पठाइएको हो । 

बैशाख ५ गते त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेपाली सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकको टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि लगेको थियो । 

संकलन गरेका स्वाब सबैका रिर्पोट आउन बाँकी छ । मस्जिदमा आएका १२ भारतीय र ४ नेपाली गरी १६ जनामध्ये ११ भारतीय र २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पुष्टि भएका १३ जनालाई नै विराटनगरस्थित कोरोना उपचार केन्द्रमा भर्ना गरिएको छ भने बाँकी ३ जनालाई बिराटनगरकै टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ । 


#काेराेना

प्रतिकृया दिनुहोस