शनिबार १२, असार २०७८ ०२:३७
दमाैली । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको छ । बाँदर आतङ्क रहेको यस ठाउँमा बाँदरलाई जङ्गलमै भुलाउन विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपण शुरु गरिएको हो ।
डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा नमूना फलफूल वन स्थापना गर्ने उद्देश्यले फलफूलका बिरुवा रोपिएको हो ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले फलफूलका बिरुवा रोपेर उक्त कार्यको शुभारम्भ गरेका छन् ।
जङ्गलमा बाँदरको आहारा पाइन छाडेपछि त्यसको खोजीमा बाँदर मानव वस्ती छेउ आउने गरेका छन् । मानव वस्ती छेउमा आउन बाँदरले कृषकले उत्पादन गरेको खेतीबाली नष्ट गरिदिने गरेको छ । बाँदर आतङ्कका कारण यहाँका कृषक हैरान छन् ।
बाँदर आतङ्क न्यूनीकरण गर्दै बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती शुरु गरिएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।
उनका अनुसार यहाँको तीन हेक्टर क्षेत्रफलमा १४ प्रजातिका ८ सय ५० वटा फलफूलका बिरुवा रोपण गरिनेछ । तनहुँमै पहिलो पटक उमाचोकमा बाँदर भुलाउन जङ्गलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको प्रमुख रानाभाटको भनाइ छ । 'बाँदरले आफ्नो आहाराको अभावमा किसानको खेतीबाली नष्ट गर्ने तथा मानिसलाई नै आक्रमण गर्ने समस्या न्यूनीकरणका लागि फलफूलका बिरुवा लगाउन लागेका हौं,' उनले भने ।
यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले सात लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्नेछ । 'बुट्यान जङ्गलमा बाँदरले मन पराउने वर्षेनी उत्पादन हुने खालका बिरुवा लगाउन शुरु गरेका छौ, दुई तीन दिनमा सबै क्षेत्रमा बिरुवा रोपेर सकिन्छ,' उनले भने ।
उनका अनुसार यहाँ काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरु, कटहर, चिली लगायतका बिरुवा उत्पादन गरिनेछ । दुई तीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जङ्गलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास गरिएको छ । 'म्याग्देका विभिन्न ठाउँमा बाँदर आतङ्क छ, त्यसमध्ये पनि उमाचोकमा बढी नै आतङ्क रहेको पाइयो,' प्रमुख रानाभाटले भने, 'विगतमा धेरै पटक खेतबारीमै गएर महिलालाई आक्रमण गर्ने गरेको घटना छ ।'
डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताए । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले फलफूलका बिरुवा उत्पादन भएपछि सर्वसाधारणले बाँदर आतङ्कबाट मुक्ति पाउने बताउँदै फलफूलका बिरुवा रोपणका लागि गाउँपालिकाका तर्फबाट १० हजार सहयोगको प्रतिबद्धता व्यक्त गरिन् ।
स्थानीयवासी इन्द्र अधिकारीले फलफूल खेतीले बाँदर आतङ्क न्यूनीकरणका साथै आयआर्जन पनि गर्न सकिने बताए । उमाचोक सामुदायिक वनका अध्यक्ष श्यामलाल श्रेष्ठले वनमै फलफूल भएपछि बाँदर त्यतै भुलेर बस्तीतिर नआउने भएकाले फलफूलका बिरुवा रोपिएको जानकारी दिए ।
'खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, बाँदर आतङ्कबाट हैरानै भइयो,' श्रेष्ठले भने, 'फलफूल खेतीले बाँदर आतङ्कबाट छुटकारा पाइएला भन्ने आशा छ ।' - (रासस)
प्रतिकृया दिनुहोस