२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

१० वर्षपछि सुर्खेतबाट सल्यान सरे राउटे

बिहिबार १०, असार २०७८ ०४:२३

१० वर्षपछि सुर्खेतबाट सल्यान सरे राउटे
फाइल तस्बिर

कर्णाली । फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान पुगेको हो ।  

गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मङ्गलबार सुर्खेतबाट सल्यानको कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको जनाएको छ ।

प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले १० वर्षपछि राउटेहरु पुनः सल्यानमा पुगेको बताइन् । हाल ४६ घरधुरीमा गरी राउटेहरुको सङ्ख्या १४३ रहेको छ ।

आफ्नो समुदायका सदस्यको मृत्यु हुँदा बसाइँ सर्ने प्रचलन भएपनि राउटेहरु यसपटक गुर्भाकोट भेरी किनारमा गर्मी बढेपछि सल्यानतर्फ लागेको बताइएको छ । अछाम, दैलेख, सुर्खेतका विभिन्न जङ्गल क्षेत्र हुँदै उनीहरु सल्यान सरेका हुन् ।

गुर्भाकोट नगरपालिकामा रहँदा यही जेठ २१ गते दुई राउटे युवतीमाथि यौनजन्य हिंसाको घटना सार्वजनिक भएको थियो । प्रहरीले उक्त घटनामा संलग्न तीन युवालाई जबरजस्ती करणी र साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

पहाडी जङ्गलमा फिरन्ते जीवनशैली बिताउने राउटे समुदाय नेपालकै लोपोन्मुख आदिवासीमा पर्दछ । सरकारले यस जातिको सुरक्षाका लागि प्रतिव्यक्ति मासिक तीन हजार प्रदान गर्दै आएको छ । -(रासस)


प्रतिकृया दिनुहोस