२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

भेरी अस्पतालका डाक्टरमाथि कुटपिट मुद्दाका तीनै आरोपी धरौटीमा रिहा

सोमबार ०७, असार २०७८ ०७:३०

भेरी अस्पतालका डाक्टरमाथि कुटपिट मुद्दाका तीनै आरोपी धरौटीमा रिहा

काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट मुद्दाका तीन जना आरोपी धरौटीमा रिहा भएका छन् ।

बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले चिकित्सक र नर्समाथि कुटपिट मुद्दाका आरोपी दाङका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई आइतबार धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीहरुलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाले जानकारी दिए ।

गत जेठ १३ गते बेलुकी दाङ तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५४ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित बनेका उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए । उनीहरुमध्ये मानबहादुर मृतकका भाइ र दुई जना छोरा हुन् ।

भेरी अस्पतालमा भएको उक्त घटनाको चौतर्फी विरोध भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।


प्रतिकृया दिनुहोस