२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

काेराेना निकाे भएर घर फर्किए चार जना

आइतबार ०७, बैशाख २०७७ ०९:४२

काेराेना निकाे भएर घर फर्किए चार जना
काेराेना निकाे भएर सेती प्रादेशिक अस्पतालबाट आइतबार डिस्चार्ज भएकाे कैलालीकाे लम्कीचुहाका युवाकाे विदाइ गरिँदै ।

काठमाडाैं । काेराेना भाइरसकाे उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ्य भएर घर फर्किएको जनाइएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबार सेती अस्पतालमा उपचाररत २१ वर्षीय पुरुष पनि कोभिडको उपचारपछि घर फर्किएको बताए । ती सङ्क्रमितको पनि पिसिआर विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि अस्पतालबाट घर पठाइएकोे हो ।

शनिबार साँझ धौलागिरि अस्पताल बाग्लुङमा उपचाररत कोभिड सङ्क्रमित ६५ वर्षीया महिलालाई घर पठाइएको थियो । शनिबारै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड सङ्क्रमित १९ वर्षीया युवती प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी थिइन्।

नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसकेका छन् । कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते फेला परेका थिए ।

चैतको १० मा उनमा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’ को घोषणा गरेको थियो । पछिल्लो पटक गत वैशाख २ को मन्त्रिपरिषद्ले आगामी १५ गतेसम्म ‘लकडाउन’ लाई निरन्तरताको निर्णय गरेको थियो । सरकारले काठमाडौँ उपत्यकासहित देशैभर ‘लकडाउन’ कडाइ गरेको छ ।

अहिलेसम्म तेस्रोपटक ‘लकडाउन’ थप गरिसकेको छ । सरकारले यही वैशाख १८ सम्म सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको छ । पछिल्लो विवरणअनुसार कोभिड– १९ का सङ्क्रमित कूल ३१ जनामध्ये चार फर्किएका हुन् । अन्य २७ जना विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । उनीहरुमध्ये टेकु अस्पतालमा एक, पाटन अस्पतालमा दुई, बाग्लुङ अस्पतालमा एक, धनगढी अस्पतालमा एक, वीरगञ्जमा चार र विराटनगरमा १३ जना रहेका छन् । काठमाडौँ बाहिरका अस्पतालमा पनि उपचार भइरहेकाले कोभिड उपचारमा सहजता भएको मन्त्रालयले जनाएको छ ।

१५ प्रयोगशालाबाट पिसिआर परीक्षण

मुलुकका विभिन्न स्थानमा गरी जम्मा १५ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण शुरु गरिएको छ । हालसम्म देशका विभिन्न प्रयोगशालामा भएका परीक्षण नतिजाको नमूनाको नतिजा पोजेटिभ आएमा पुनः परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला ल्याइने गरिएकामा अब पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिममा भेरी अस्पतालमा अन्य स्थानबाट आउने पिसिआर प्रविधिको परीक्षणको नमूना पोजेटिभ आएमा ती प्रयोगशालामा परीक्षण गरी अन्तिम नतिजा घोषणा गरिनेछ । यसले प्रयोगशालाको दायरालाई फराकिलो बनाएको प्रवक्ता देवकोटाले बताए ।

मन्त्रालयको अद्यावधिक विवरणअनुसार हालसम्म पिसिआर विधिबाट परीक्षण भएका सङ्ख्या आठ हजार ८१ र र्यापिड डायग्नोष्टिक किटबाट परीक्षणबाट २१ हजार ४८६ गरी जम्मा २९ हजार ५६७ रहेको छ । गत २४ घण्टामा नयाँ परीक्षण दुई हजार १६८ भएका छन् । थप परीक्षणका लागि किटहरु सबै प्रदेशमा पुगिसकेकाले द्रुत परीक्षण बढ्ने मन्त्रालयले जनाएको छ ।

आजसम्म पाँच हजार १८० व्यक्ति क्वारेन्टाइनमा छन् । आइसोलेशनमा रहेका बिरामी १०३ जना रहेका छन् । आइसोलेशनमा रहेकामध्ये उपत्यकाभित्र ५ र बाहिर ९८ जना छन् । मन्त्रालयमा रहेका दुई कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा दुई हजार २४१ प्राप्त भएकामा सबैको मन्त्रालयबाट सम्बोधन गरिएको जानकारी दिइयो ।

मन्त्रालयको मोबाइल एप्लिकेशन र वेबसाइडमा स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको सङ्ख्या २० हजार ८३४ पुगेको छ । गत २४ घण्टामा मात्रै थप ७०४ जनाले स्वमूल्याङ्कन गरेका थिए । उनीहरुमध्ये गत २४ घण्टामा थप छ सम्भावित सङ्क्रमित जोनमा रहेका र त्यस्तो जोनमा पुग्नेको सङ्ख्या मुलुकभर हालसम्म २६० जना रहेको मन्त्रालयले जनाएको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस