२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

पूर्वमा प्रवेश गर्‍यो मनसुन, सरदरभन्दा बढी वर्षा हुने

शुक्रबार २८, जेठ २०७८ ०९:५६

पूर्वमा प्रवेश गर्‍यो मनसुन, सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ । नेपालमा शुक्रबारदेखि मनसुन सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर बंगालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण शुक्रबार पूर्वीभागमा मनसुन प्रवेश भएको घोषणा गरेको छ । 

'प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा मनसुनको आगमन भएको छ', बुलेटिनमा भनिएको छ, 'एक दुई दिनमा नै मनसुन देशैभरी फैलिने सम्भावना रहेको छ ।' महाशाखाले अर्को साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरुमा भारी तथा थोरै स्थानमा धेरै भारी वर्षा (अतिवर्षा) को सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपालमा जेठ अन्तिमदेखि असोज पहिलो सातासम्म मनसुनी वर्ष सुरु हुन्छ । मौसमविद्हरुका अनुसार नेपालमा करिब १ सय लिन मनसुन सक्रिय हुन्छ ।

मनसुन अवधिमा नेपालका धेरैजसो भू–भागहरुमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ । तर आकलन गरिएको मितिभन्दा एक साताअघि नै मनसुन प्रवेश भएको छ । विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने देखिन्छ ।

प्रदेश १ को मध्य तथा हिमाली भागहरुमा पनि सरदरभन्दा बढी (३५–६५ प्रतिशत) वर्षा हुने आकलन गरिएको छ । लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश २ को पश्चिम भूभागमा भने सरदर (३५–४५ प्रतिशत) र प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी जिल्लाहरुमा सरदभन्दा कम (३५–४५ प्रतिशत) वर्षा हुनेछ ।

सरदर वर्षा भन्नाले कुनै पनि मौसम मापन केन्द्रको लामो समय (सन् १९८१–२०१०) को ३३.३ देखि ६६.६ प्रतिशत वर्षालाई जनाउँछ । सरदरभन्दा कम र बढी वर्षा भन्नाले क्रमशः ३३.३ प्रतिशतभन्दा कम र ६६.६ प्रतिशतभन्दा बढीको वर्षालाई जनाउँछ ।


प्रतिकृया दिनुहोस