२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

कानपुरमा बस र भ्यान ठोक्किँदा १७ जनाको मृत्यु

बुधबार २६, जेठ २०७८ ०४:५३

कानपुरमा बस र भ्यान ठोक्किँदा १७ जनाको मृत्यु

लखनऊ (एजेन्सी) । भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । 

निकै भयानक उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको प्रहरीले जनाएको छ । कोरोनाभाइरस महामारीको दोस्रो लहर भारतमा केही मत्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरु पुनः कामको खोजीमा निस्कन थालेका छन् ।

विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएसँगै बस सडकमा पल्टिएको प्रहरी अधिकृत मोहित अग्रवालले बताए ।

बसमा सवार मजदुरहरु पश्चिमी गुजरात प्रान्तको अहमदाबादतर्फ जाँदै थिए । 

भ्यानमा बिस्कुट बनाउने कारखानामा कार्यरत मजदुरहरु रहेका थिए । मृत्यु हुनेहरु अधिकांश भ्यानमा सवार मजदुरहरु रहेको अग्रवालले जानकारी दिए ।

उक्त घटनामा परेका १६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रहरी अधिकृत अग्रवालले बसमा सवार व्यक्तिहरुको भनाई उद्धृत गर्दै बस चालकले तिब्र बेगमा बस चलाएको गुनासो गरेको बताए। 

प्रहरीका अनुसार भारतमा हरेक वर्ष एक लाख १० हजारभन्दा बढी व्यक्तिको सडक दुर्घटनामा ज्यान जाने गरेको छ । अधिकांश अवस्थामा चालकको लापरवाही, सडकको कमजोर अवस्था र पुराना सवारी साधनका कारण दुर्घटना हुने गरेका छन् । 


प्रतिकृया दिनुहोस