२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

बाँदरमुढे घटना : पीडितको अवस्था उस्तै

आइतबार २३, जेठ २०७८ १०:२६

बाँदरमुढे घटना : पीडितको अवस्था उस्तै
विसं २०६२ जेठ २३ गते बाँदरमुढे खोला नजिकै एम्बुसमा परेकाे बस । फाइल तस्बिर

चितवन । १६ वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ७५ जना घाइतेसमेत भएका थिए । 

घटनास्थलमा ३९ जनाको मृत्यु भएको थियो । उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो । मृतकमध्ये तीन जना नेपाली सेना रहेका थिए । विसं २०६२ जेठ २३ गते माडीको बगईबाट भरतपुरका लागि आउँदै गरेको यात्रुवाहक बसलाई बाँदरमुढे खोला नजिकै एम्बुस थापेर विस्फोट गराइएको थियो ।

लामो समय बितिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको पीडितहरुको गुनासो छ । माडी नगरपालिका–९  गणेशगुञ्जकी विष्णुमाया विक १४ महिने छोरी सुस्मितासहित सोही दुर्घटनामा परेका थिए । दुर्घटनामा परी उनको दाहिने खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको थियो । सानी छोरीको खुट्टामा चोट लागेको थियो । विकले भने, 'हामीले अहिलेसम्म पनि न्याय पाउन सकेनौँ ।' 

बाल्यकालमै घटनामा परेकी सुस्मिता कृष्णनगर स्कुलमा १० कक्षामा पढ्छिन् । दिनहुँ ढाड, टाउको दुख्ने समस्याबाट ग्रसित भएको उनको गुनासो छ । बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी विकसँगै धेरैको पीडा उस्तै रहेको बताउँछन्।

उक्त घटनाकै कारण छ जना मानसिक रोगी भएको र अङ्गभङ्ग भएका सात जनाले अहिले पनि औषधि खानुपरेको अधिकारीको भनाइ छ । यतिका वर्ष हुँदा पनि राज्यले नहेरेको उनले गुनासो गरे । 

गत प्रतिनिधिसभाको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आश्वासन दिएको भए पनि पूरा हुन नसकेको उनको भनाइ छ । सत्यसहित न्याय र परिपूरणको व्यवस्था हुनु पर्ने, दोषी दोषअनुसारको भागीदार हुनुपर्ने जस्ता माग पीडितको छ । सोही घटनामा घाइते अधिकारीले चार वर्ष वैशाखीको सहारामा जीवन बिताएका थिए ।  दुवै खुट्टा र ढाड भाँचिएको थियो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले पीडितका परिवारका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाइएको, पीडित परिवारलाई माडीमा हुने उपचारमा निःशुल्क गरिएको, प्रति परिवारलाई एक लाखका दरले दिने निर्णय अनुसार ३५ परिवारलाई राहत वितरण गरिएको र बाँकी २५ परिवारलाई यसै आर्थिक वर्षमा वितरण गरिने बताए । नगरपालिकामा ६४ परिवारले पीडित भएको भन्दै नाम दर्ता गराएका छन् । 

वाग्मती प्रदेश सरकारको सहयोगमा बाँदरमुढे घटनास्थलमा पार्क निर्माणको काम अघि बढेको छ । उनका अनुसार यस वर्ष ४० लाखको लागतमा कम्पाउण्ड गरिँदै छ । पार्कमा मृतकका अर्धकदका शालिक, बालउद्यान, बगैँचालगायतका संरचना बन्ने छन् । दुई बिघा आठ कठ्ठा जमीनमा आठ करोड खर्च गरेर पार्क निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । उक्त घटनाको सम्झनामा आइतबार बिहान स्मृति दिवस मनाइएको छ । पीडित परिवारले घटनास्थलको स्मारकमा दीपप्रज्वलन गरेर मृतकको सम्झना गरेका हुन् । 


प्रतिकृया दिनुहोस