२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

एनआरएनए पोर्चुगल अध्यक्ष गैरेद्वारा अस्पताललाई स्वास्थ्य सामग्री सहयाेग

शनिबार १५, जेठ २०७८ ०७:४८

एनआरएनए पोर्चुगल अध्यक्ष गैरेद्वारा अस्पताललाई स्वास्थ्य सामग्री सहयाेग

गैंडाकोट । एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले पूर्वी नवलपरासी (वर्दघाट सुस्तापूर्व) को मध्यविन्दु अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

गैरेको सहयोगमा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको उपस्थितिमा विजय विकास स्रोत केन्द्रको समन्वयमा ७३ हजार रुपैयांँ बराबरका सामग्री अस्पताललाई मंगलबार हस्तान्तरण गरिएको हो ।

अक्सिमिटर, अक्सिजन कन्टोलर, एन ९५ मास्क, फेस सिल्डलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले जानकारी दिए।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी पंगेनीले हालको विषम परिस्थितिमा सबैको सहयोगले कोरोना भाइरससंग जुधेर विजय प्राप्त गर्नुपर्ने बताए। उनले एनआरएनए पाेर्चुगलका अध्यक्ष गैरेले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट वीरबहादुर थापाले कोभिड १९ को दोस्रो लहरमा कोभिडलाई जित्न सबै लागिपरेको बताउँदै यी स्वास्थ्य सामग्रीले आफु सुरक्षित रहेर बिरामीको उपचारमा खटिने बताए। अहिलेको परिस्थितिमा सबै सचेत र संयम बन्न आवश्यक भएकाले स्वास्थ्यप्रति संवेदनशील हुन उनले आग्रह गरे।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले कोभिडको विषम परिस्थितिमा सहयोग र समन्वयका लागि श्रोत केन्द्रले कार्य गरिरहेको बताए । यस्तै कार्यक्रममा बोल्दै विजय सामुदायिक शिक्षा सहकारी संस्थाका अध्यक्ष खेमराज सापकोटाले विजय परिवार समाजप्रति उत्तरदायी बन्दै आएको बताए ।


प्रतिकृया दिनुहोस