२०८१ मङि्सर ०६ गते बिहिबार | 21 November, 2024

डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्न ट्रम्पकाे निर्देशन

बुधबार ०३, बैशाख २०७७ ११:२४

डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्न ट्रम्पकाे निर्देशन

वासिङ्टन (एजेन्सी)। अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस प्रकोप नियन्त्रणमा डब्लूएचओले न्यूनतम दायित्व पूरा गर्न विफल भएको आरोप लगाउँदै सहयोग रोक्नेबारे आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका हुन् ।

 चीनमा कोरोना भाइरस देखिएपछि त्यसको संक्रमणसम्बन्धी विषयलाई डब्लूएचओले सही ढंगले व्यवस्थापन गर्न नसकेको र घटनालाई ढाकछोप गरेको उनको आरोप छ। ‘कोरोना भाइरस संक्रमण फैलने विषयलाई एकदमै नराम्रो ढंगले व्यवस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिँदैछु,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले बताए। उनले डब्लूएचओलाई जबाफदेही बनाउनुपर्नेमा समेत जोड दिएका छन्। यसअघि उनले डब्लूएचओ चीनमुखी भएको आरोप लगाएका थिए।

डब्लूएचओलाई अमेरिकाले सबैभन्दा धेरै आर्थिक सहायता उपलब्ध गराउँछ। गत वर्ष उसले ४० करोड डलर सहयोग दिएको थियो, जुन डब्लूएचओको कुल बजेटको १५ प्रतिशत रकम हो।

अमेरिका काेराेना भाइरसकाका कारण सबैभन्दा प्रभावित राष्ट्र हो। बुधबार बिहानसम्म अमेरिकामा काेराेनाबाट २५ हजार ७ सय ५७ जनाले ज्यान गुमाइसकेका छन् भने ६ लाख ५ हजार १ सय ९३ जना संक्रमित पुष्टि भइसकेका छन्।

अमेरिकामा भाइरस नियन्त्रण र रोकथाममा उचित कदम चाल्न नसकेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना भइरहेका बेला उनी भने डब्लूएचओप्रति आक्रोश पोखिरहेका छन्। भाइरससँग जुध्न लिइएका नीतिको आलोचना भइरहे पनि आफ्नो प्रशासनले चालेका कदमको आक्रोशपूर्ण तरिकाले ट्रम्पले बचाउ गर्दै आइरहेका छन्।


प्रतिकृया दिनुहोस