२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

कर्णाली प्रदेश अस्पतालमा एकैदिन १० जनाको मृत्यु

बुधबार २९, बैशाख २०७८ १०:२५

कर्णाली प्रदेश अस्पतालमा एकैदिन १० जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा बुधबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश अस्पतालमा मृत्यु भएको यो संख्या हालसम्मकै उच्च हो ।

बुधबार मृत्यु हुनेमा १६ देखि ७८ वर्ष उमेर समूहका रहेको अस्पतालको कोरोना वार्डमा कार्यरत डा. चन्द्रेश सिंहले जनकारी दिए । धेरैजसो बिरामीहरु २ सातादेखि उपचारमा रहेका र उनीहरुको फोक्सोले काम गर्न नसक्दा मृत्यु भएको डा. सिंहले बताए । ‘अक्सिजन आपूर्ति भइरहे पनि फोक्सोले काम गर्न सकिरहेको थिएन,’ उनले भने, ‘केही बिरामीलाई त अक्सिजनबाट छुटाएर एक्स–रेसमेत गर्न सकिएको थिएन ।’ प्लान्टबाट आपूर्ति भइरहेको अक्सिजन विद्युत् गएको बेला फ्लो कम हुने भएकोले पनि समस्या देखिएको उनले बताए ।

प्रदेश अस्पतालको कोभिड विशेष अस्पतालमा करिब १ सय जना बिरामी रहेका छन् । तीमध्ये १२ जना भेन्टिलेटरमा रहेका डा. सिंहले बताए । ‘अहिले पनि नयाँ बिरामी आउनेक्रम रोकिएको छैन, सिकिस्त अवस्थामा आएका बिरामीलाई बचाउन निकै गाह्रो भइरहेको छ,’ उनले भने, ‘अक्सिजनदेखि जनशक्ति व्यवस्थापन नहुँदा समस्या भइरहेको छ ।’

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १ सय १६ पुगेको छ ।


प्रतिकृया दिनुहोस