२०८१ बैशाख ०४ गते मङ्गलबार | 16 April, 2024

उपत्यकामा निषेधाज्ञा लागू, उल्लंघन गरे यस्ताे सजाय

बिहिबार १६, बैशाख २०७८ ०७:०३

उपत्यकामा निषेधाज्ञा लागू, उल्लंघन गरे यस्ताे सजाय

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो ।

संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु विहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र सन्चालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका देखिन्छ ।  

निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने छ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।

संक्रामक रोग ऐनमा काममा बाधा पुर्याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।


प्रतिकृया दिनुहोस