२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

धुलाे र खाल्टा व्यवस्थापन नगरेकाे भन्दै दाउन्नेमा चक्काजाम

मङ्गलबार १४, बैशाख २०७८ ०८:५६

धुलाे र खाल्टा व्यवस्थापन नगरेकाे भन्दै दाउन्नेमा चक्काजाम

नवलपरासी । चिनियाँ ठेकेदार कम्पनीले महेन्द्रराजमार्ग बिस्तारका क्रममा सम्झौता अनुसार काम नगरेको भन्दै स्थानीयले दाउन्नेमा चक्काजाम गरेका छन् । बुटवल–नारायणगढ खण्डको दाउन्नेमा सडक भत्किएर धुलोले सास फेर्नै कठिन भएको र दुर्घटनाको जोखिम बढेको भन्दै चिनिया ठेकेदारको ध्यानाकर्षण गर्न स्थानीयले मंगलबार साँझ ६ बजेबाट दाउन्नेमा यातायात ठप्प पारेका हुन् ।

दाउन्नेको १४ किलोमिटर खण्डमा धुलोले बस्नै नसकिएको भन्दै चक्काजाम गर्न बाध्य भएको स्थानीयले होटल संचालक विष्णु गुरुङले बताए । चक्काजामका कारण लाइफलाइन मानिने महेन्द्रराजमार्गको दाउन्नेमा पूर्वपश्चिम हिडेका सयौं गाडी अलपत्र परेका छन् । सरकार र चिनिया ठेकेदार कम्पनी बीच भएको सम्झौतामा सडक बिस्तारको काम गर्दा धुलो उडाउन नपाइने, खाल्टाखुल्टी २४ घण्टाभित्र पुर्न पर्ने सभ्झौता छ ।

सडक निर्माणको जिम्मेवारी पाएको चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोेरेशन लिमिटेड (सिएससीइसी) लाई धुलो नउडाउने गरी काम गर्न पटक पटक अनुरोध गर्दापनि बेवास्ता गरेकाे स्थानीयकाे भनाइ छ । 

धुलो र खाल्टाखुल्टीका कारण दाउन्नेको १४ किलोमिटर सडक खण्ड पार गर्न ३ घण्टा भन्दा बढी समय लाग्छ । यहा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । बुटवल नारायणगढ खण्डको ११४ किलोमिटर सडक फराकिलो पार्न सिएससीइसीले १७ अर्ब लागतमा ठेक्का पाएको हो । 

पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला मोहन थापाले मंगलबार साझ सडक आयोजना प्रमुख रमेश दृष्टिसहितलाई राखेर जिल्ला प्रशासनमा गरिएको छलफलमा निर्माणका क्रममा धुलो नउड्ने बनाउन नियमित पानी हाल्ने, नाली सफा गर्न र खाल्टा पुर्नेबारे सहमति भएको बताए । यसअघि पनि पटक पटक प्रतिबद्धता अनुसार काम नगरेकाले निर्माणस्थलमा नतिजा नदेखिदासम्म चक्काजाम जारी राखिने स्थानीयको भनाइ छ ।


प्रतिकृया दिनुहोस