२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

जापानमा फेरी संकटकालकाे घोषणा

एजेन्सी शनिबार ११, बैशाख २०७८ ०७:३३

जापानमा फेरी संकटकालकाे घोषणा

टाेकियाे । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गरेका छन् ।      

प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेकाे अधिकारीहरूले जानकारी दिएका छन् । उनले जापानको राजधानी टोकियो र अरु केही पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकालको घोषणा गरेका हुन्। शुरुका महिनाहरुमा यहाँ काेराेना महामारी फैलिएको थिएन ।

प्रभावकारी रुपमा जापानमा महामारीको नियन्त्रण भइरहेको बताइएको थियो । तर पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तिब्र बन्दै गएको बताइएको छ । यो महामारी थप नफैलियोस भन्ने उद्देश्यले संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।    
    
प्रधानमन्त्री सुगाले अहिले हिजो घोषणा गरेका संकटकाल आगामी मे ११ सम्म लागु हुने बताइएको छ । यहाँ संकटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन् ।
 
दोस्रो पटक पनि यहाँ संकटकालको घोषणा भएपछि यहाँका मानिसमा थप त्रास फैलिएको बताइएको छ ।


#जापान #काेराेना संक्रमण

प्रतिकृया दिनुहोस