२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

गौरिका सिंह एसियाकै प्रभावशाली युवाको सूचीमा

- विशेष खबर मङ्गलबार ०७, बैशाख २०७८ ०४:४८

गौरिका सिंह एसियाकै प्रभावशाली युवाको सूचीमा

काठमाडौं । नेपाली पौडीबाज गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् ।

स्वीमर गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । चर्चित अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।

सात वर्षयता नेपाली पौडीमा सनसनीपूण प्रदर्शन गरिरहेकी १८ वर्षीया गौरिकालाई प्रभावशाली युवामा समावेश गर्दै फोर्ब्सले लेखेको छ, ‘गौरिका सिंह नौ वर्ष भएदेखि नै पौडीमा छिन् र १२ वर्षदेखि नै नेपालको लागि प्रतिस्पर्धा गरिरहेकी छन् । दक्षिण एसियाली खेलकुद २०१९ मा चार स्वर्ण, दुई रजत र तीन कांस्यपदक जितिन् । उनी रियो ओलम्पिक २०१६ मा सबभन्दा कम उमेरकी खेलाडी थिइन् । उनी टोकियो ओलम्पिक २०२० लाई पनि छनोट भएकी छन्, जुन स्थगित भएर जुलाई–अगस्ट २०२१ मा हुदैछ । पौडीबाहेक उनी समाजसेवामा पनि संलग्न छिन् । उनी गैरनाफामूलक संस्थाहरू माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्‍भावना दूत हुन् ।’

उनीसहित ३० वर्षमुनिका ३० जना प्रभावशाली युवालाई फोर्ब्सले थर्टी अन्डर थर्टी एसियाको इन्टरटेन्मेन्ट एन्ड स्पोर्टस् विधामा समावेश गरेको हो । गायक/गायिकासहित मनोरन्जन उद्योगमा संलग्न युवाहरू र खेलाडीलाई यस विधामा राखिएको छ । फोर्ब्सको यस विधामा गत वर्ष नेपाली एमेच्योर गल्फर प्रतिमा शेर्पा परेकी थिइन् ।

यसपाली गौरिकासहित दुई नेपाली युवा फोर्ब्सको सूचीमा परेका छन् । २९ वर्षीय प्रकाश काइराला ‘फाइनन्स एन्ड भेन्चर क्यापिटल’ तर्फ महादेशकै प्रभावशाली ३० युवामा पुगेका हुन् । फिनलिट नेपालका यी संस्थापकले सन् २००९ यता वितीय साक्षरताको अभियान चलाइरहेका छन् ।

इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स, सोसल इम्प्याक्ट, हेल्थ केयर एन्ड साइन्स, फाइनन्स एन्ड भेन्चर क्यापिटल, आर्टस्, इन्टरप्राइज टेक्नोलोजी, कन्ज्युमर टेक्नोलोजी, रिटेल एन्ड इकमर्स, इन्डस्ट्री म्यानुफ्याक्चरिङ एन्ड इनर्जी र मिडिया, मार्केटिङ एन्ड एडभरटाइजिङ गरी दस विधामा फोर्ब्सले ३० वर्षमुनिका प्रभावशाली युवाको सूची निकालेको हो । हरेक विधामा ३०–३० जनालाई छनोट गरिएको छ । यसमा २ हजार ५ सय बढी मनोनयनमा परेको फोर्ब्सले जनाएको छ ।


#गौरिका सिंह #प्रभावशाली युवा

प्रतिकृया दिनुहोस