- विशेष खबर आइतबार ०५, बैशाख २०७८ ०७:३८
काठमाडौं। कोरोना महामारीको जोखिम कम नभएसम्म राजधानीका शैक्षिक संस्था बन्द गर्न उपत्यकास्थित तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी (प्रजिअ)ले सुझाव दिएका छन् ।
कोरोना संकट व्यवस्थापन केन्द्रको सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअहरुले महामारीबाट विद्यालय तहका छात्रछात्रामा संक्रमण फैलिन थालेकोले अर्को निर्णय नभएसम्म सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका हुन् ।
भीडभाड हुने अन्य क्षेत्र र होटल/रेस्टुराँलगायतलाई मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने पनि सुझाव प्रजिअहरुले दिएका छन् । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले ततकाललाई वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्नुपर्ने र त्यसपछि पनि जोखिमको अवस्था हेरेर थप निर्णय लिनुपर्ने सुझाव आफूहरुले दिएको बताए । प्रशासनको सुझावलाई सीसीएमसीले गम्भीरताका साथ लिएको र यसलाई मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गर्ने निर्णय भएको उनले बताए ।
शनिबारको सीसीएमसीको आकस्मिक बैठकले वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्नुपर्ने प्रस्ताव गरेको थियो । यसपछि आइतबार तीन जिल्लाकै प्रजिअसँग उपत्यकाको अवस्था र जोखिम नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे सीसीएमसीले छलफल र रायसुझाव मागेको थियो ।
महामारीको जोखिम बढेकोले जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गर्न पनि सीसीएमसीबाट निर्देशन भएको उनले बताए ।
प्रतिकृया दिनुहोस