२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

नेपाल ट्रष्टले काठमाडौं प्लाजा खाली गराउने

- विशेष खबर सोमबार ३०, चैत २०७७ ०५:४९

नेपाल ट्रष्टले काठमाडौं प्लाजा खाली गराउने

काठमाडाैं । नेपाल ट्रष्टले काठमाडौं प्लाजा खाली गराउने भएको छ । ठेक्का लिएको कम्पनीलाई पटक-पटक भने पनि अटेर गरेपछि खाली गराउन लागिएको ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यले बताए । 

उनका अनुसार कमलादीस्थित उक्त प्लाजाको २७ वर्षको लिज ठेक्का कन्सेप्ट डेभलपर्स प्रा.लि.ले लिएको थियो।  सम्झौता अवधि सकिएको झन्डै एक वर्षसम्म उसले प्लाजा खाली गरेकाे छैन् । 

‘वैशाख २ गते हामी प्रहरी लगाएर बलपूर्वक प्लाजा खाली गराउँदैछौं,’आचार्यले भने।  कम्पनीलाई प्लाजा खाली गराउन गत असार, कात्तिक र अन्तिमपटक हालसालै सूचना निकालेर समय दिइएको थियो। अन्तिमपटक जारी गरेको सूचना भोलि (मंगलबार) सकिँदैछ।  ‘वैशाख १ गते सरकारी बिदा भएकाले भोलिपल्ट २ गते खाली गराउने हाम्रो योजना छ,’ आचार्यले भने। 

कौडीको भाउमा २०५२ सालमा उक्त कम्पनीले प्लाजा लिजमा लिएको थियो। त्यसबेला उक्त प्लाजा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको नाममा थियो ।  पछि २०६४ सालमा राजामहाराजाको जग्गा सरकारीकरण गर्न ट्रष्ट गठन भएयता भाडा उसैले उठाउँदै आएको थियो। 

भाडादर एकदमै सस्तो रहेका कारण ट्रष्टले उक्त कम्पनीसँगको ठेक्का सम्झौता नवीकरण नगर्ने अडान लिएकाे थियाे । २०७७ असार १ गतेको ट्रष्टको बैठकले उक्त कम्पनीसँग सहकार्य तोड्ने र काठमाडौं महानगरपालिकासँग नयाँ सम्झौता गर्ने निर्णय गर्दै मन्त्रिपरिषदमा सिफारिस गरेकाे थियाे । 

असार २ गते मन्त्रिपरिषदले ट्रष्टको सिफारिस सदर गरेपछि काठमाडौं महानगरपालिकालाई उक्त प्लाजा दिने प्रक्रिया अघि बढेको छ। काठमाडौं महानगरपालिका मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा बुझाउने सर्तमा प्लाजा लिने प्रक्रियामा छ। 

प्लाजा खाली गराएसँगै उक्त कम्पनीको बक्यौता रकम उठाइने आचार्यले बताए।  समय सकिएको अवधिदेखि १० महिना कम्पनीले भाडा बुझाएको छैन।  यो अवधिको भाडा झन्डै ६० करोड ५० लाख रुपैयाँ आउन जान्छ। 

मन्त्रिपरिषदले काठमाडौं महानगरपालिकालाई दिने निर्णय गरेपछि उक्त डेभलपर्स मुद्दामा गएको छ।  मुद्दा हाले पनि निर्णय उसको पक्षमा आएको छैन। त्यसैले, सरकारको निर्णय कार्यान्वयनका लागि अदालती प्रक्रियाले नरोक्ने आचार्य बताउँछन्।

सुरूवातमा खाली गर्न त्यहाँ भाडामा बसिरहेका व्यापारीलाई अनुरोध गर्ने र अटेर गरे सिलबन्दी गरेर भए पनि खाली गर्ने योजना रहेको आचार्यले बताए।  


#नेपाल ट्रष्ट #काठमाडाैं प्लाजा

प्रतिकृया दिनुहोस