२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

गोली हानी सुनचाँदी व्यवसायीको हत्या

- रासस आइतबार २९, चैत २०७७ ०९:०२

गोली हानी सुनचाँदी व्यवसायीको हत्या

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् ।

सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएकी छन् । उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मध्यराति आएका समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।

गोली हानी हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीकाे जनाएकाे छ।


#गोली हानी हत्या

प्रतिकृया दिनुहोस