- विशेष खबर शनिबार २८, चैत २०७७ ०४:५७
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो । विजयीहरुको औपचारिक घोषणा भने अपराह्न ५ बजेपछि गरिने निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित महासचिव रोशन पुरीका अनुसार मतगणना सकिएको छ, अध्यक्षमा विपुल पोख्रेल २ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन् । 'यसको सबै परीणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ,' उनले भने ।
अध्यक्ष पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई पराजित गरेका हुन् । त्यस्तै सोही प्यानलका माधव नेपाललाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् ।
महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई हराएकी हुन् ।
समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोख्रेल समूहका उदय जिएम निर्वाचित भएका छन् । महासचिवमा भने रोशन पुरीले विजय बनेका छन् । उनले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरे । खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् । आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् ।
सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल समूहका हुन् ।
यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् । सदस्यहरुमा सरिता तिम्सिना (खस आर्य), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला-दलित), भीषण राई (आदिवासी जनजाति) लगायत निर्वाचित भएका छन् ।
मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।
प्रतिकृया दिनुहोस