२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

अलिबाबालाई २ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना

- विशेष खबर शनिबार २८, चैत २०७७ ०९:४४

अलिबाबालाई २ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना

काठमाडौं । चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा २ अर्ब ७५ करोड अमेरिकी डलर(करिब ३ खर्ब नेपाली रुपैयाँ) जरिवाना गरेको छ ।

यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो । क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको करिब ४ प्रतिशत जरिवानामा बुझाएको छ । चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेसन फर मार्केट रेगुलेसन(एसएएमआर)गत डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो । एसएएमआरले अलिबाबाले चीनको 'एन्टी-मोनोपोली' कानुन उल्लंघन गरेको बताएको छ । अलिबाबाले चिनियाँ सामाजिक सञ्‍जाल वेइपोमार्फत एसएएमआरको निर्णय मान्ने र व्यावसायिक सुधार गर्दै लैजाने बताएको छ ।

चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका थिए । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।तर अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक माले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उनी र उनीका व्यवसाय सरकारी निकायहरुको आँखाका तारो बनेका थिए ।

गत नोभेम्बरमा चिनियाँ वित्तीय नियामक निकायहरुले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी “एन्ट ग्रुप”ले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको हङकङ–शाङ्घाई प्रारम्भिक शेयर निश्कासनलाई रोकिदिएका थिए ।


#अलिबाबा #ई–कमर्स #चीन

प्रतिकृया दिनुहोस