२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

त्रिशुली नदी माथि बन्दै गरेको पुल भत्कियो

मङ्गलबार २४, चैत २०७७ १२:१७

त्रिशुली नदी माथि बन्दै गरेको पुल भत्कियो

चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाटको घिनाघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ । मंगलबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीयले बताएका छन् ।

भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने पुल भत्केको जानकारी आएको र थप विषय बुझ्न बाँकी नै रहेको बताएका छन् । चितवन र तनहुँ जिल्ला मात्रै नभएर वाग्मती र गण्डकी प्रदेशलाई पनि जोड्ने यो पुलको लम्बाइ २ सय मिटर रहेको छ ।पुलका चारवटा स्पान हुन्छन् ।

कंक्रिटका ४०/४० मिटरका तीनवटा र स्टिलको एउटा ४० मिटरको स्पान पुलमा रहन्छ । देवघाटतर्फ रहने एउटा स्पान र ठिमुरातर्फ रहने दुईवटा स्पानको ढलान भइसकेको छ । बीचमा रहने कंक्रिटको स्पान राख्न बाँकी छ ।

ढलान भएकोमध्ये ठिमुरा तर्फका दुईवटा कंक्रिटको स्पान नदीमा खसेको हो,’ सूचना अधिकारी इन्जिनियर शिव खनालले भने ।आउँदो जेठभित्र निर्मण सक्ने गरेर धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको डिभिजन सडक कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए ।

पुलको शिलान्यास २०७१ सालमा भएको थियो । पुल निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा पाएका थिए ।पुल निर्माणको कुल लागत १९ करोड रुपैयाँ रहेको उनले बताए । ‘

ढलानपछि केही मुख्य काम बाँकी रहेका बेलामा खसेको छ । कारण के हो बुझ्दै छौं,’ प्रमुख अधिकारीले भने । यो पुललाई अघिल्लो वर्ष पनि बाढीले असर गरेको थियो ।


प्रतिकृया दिनुहोस