२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

जेठ-असारमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्न सक्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

- विशेष खबर सोमबार २३, चैत २०७७ ०४:३३

जेठ-असारमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्न सक्छ : स्वास्थ्यमन्त्री  त्रिपाठी

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)का संक्रमित पछिल्लो समय बढ्दै गइरहेको भन्दै सरकारले स्वास्थ्य मापदण्डको प्रभावकारी रूपमा पालना गर्न नसकेमा २०७८ जेठ र असारमा फेरि कोरोना संक्रमण बढ्ने आकलन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रतिनिधिसभाको सोमबारको बैठकमा भारतमा पछिल्लो समय बढिरहेको कोरोनाको संक्रमणलाई हेर्दा नेपालमा पनि आउने जेठ र असारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्ने आकलन गरिएको बताए ।

'कोरोना संक्रमितको संख्या माघको पहिलो सातादेखि निकै कम भइरहेकोमा पछिल्लो समय निकै बढ्दै गइरहेको छ । अबका दिनमा जनस्वास्थयका मापदण्ड पालना प्रभावकारी बनाउन सकिएन भने जेठ - असारमा अर्को उच्च बिन्दुमा पुग्ने देखिन्छ,' मन्त्री त्रिपाठीले भने ।

भारतमा बढिरहेका कोरोना संक्रमितको संख्याले सरकारलाई सचेत बनाएको मन्त्री त्रिपाठीको भनाइ थियो । अब बढ्ने कोरोना संक्रमण नियन्त्रणका लागि कोरोना संक्रमितको पहिचान, आइसोलेसनको व्यवस्था, अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने बताए । यसरी सावधानी अपनाए कोरोना संक्रमणलाई नियन्त्रणमा राख्न सकिने उनको तर्क थियो ।

त्यस्तै, कोरोना भाइरसविरुद्धको भ्याक्सिन खरिदसम्बन्धि अध्यादेश संसद्‍मा अगाडि नबढेकोमा मन्त्री त्रिपाठीले असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकारले नीतिगत व्यवस्था गर्नका लागि अध्यादेश ल्याएको स्मरण गराउँदै भने, 'अध्यादेश पहिलो दिन प्रस्तुत हुन सकेन । यसको अभावमा खोप आउन सक्दैनथ्यो । यो अध्यादेशले कानुनी रूप लिएन भने हामीले लगाएको खोप गैरकानुनी लागुऔषधमा परिणत हुन्छ । हामीले लगाएको खोप फिर्ता लिन सकिँदैन । काननुमा व्यवस्था पनि थिएन । सरकारले बाध्यात्मक रूपले यो अध्यादेश ल्याएको हो ।'

प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनःस्थापना भएपछि फागुन २३ गतेको बैठकमा औषधि अध्यादेश २०३५ लाई संशोधन गर्न बनेको अध्यादेश टेबुल हुन सकेको थिएन । संवैधानिक परिषद् सम्बन्धि अध्यादेशलाई लिएर दलहरूको अवरोधका कारण अरु अध्यादेश पनि टेबुल हुन सकेका थिएनन् ।

मन्त्री त्रिपाठीले भारत र चीनबाट अनुदानमा खोप प्राप्त भएको । त्यस्तै खोप उत्पादन गर्ने विभिन्न मुलुकलाई कूटनीतिक माध्यमबाट खोप प्राप्त भइरहेको पनि बताए । उनले थप २० लाख डोज कोरोना खोप खरिद गरिएको पनि संसद्‍ बैठकलाई जानकारी दिए । उनले हालसम्म कूल जनसंख्याको ६ प्रतिशतभन्दा बढी नेपाली जनताले खोप प्राप्त गरिसकेको जानकारी दिए ।


#हृदयेश त्रिपाठी #काेराेना संक्रमण

प्रतिकृया दिनुहोस