२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

महोत्तरीबाट बेपत्ता भएका ७ किशोरी र बालिका भारतकाे विहारमा भेटिए

- विशेष खबर बुधबार १८, चैत २०७७ १०:५८

महोत्तरीबाट बेपत्ता भएका ७ किशोरी र बालिका भारतकाे विहारमा भेटिए

महोत्तरी । मंगलबार दिउँसोदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी तथा बालिका भारत, विहारको सीतामढी पुगेको पाइएको छ । उनीहरू सीतामढी पुगेको भनी त्यहाँको प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए । उनले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सबै किशोरी सकुशल छन् ।  

मंगलबार दिउँसो २ बजे घाँस काट्न भनी गएका किशोरीहरू नफर्किएका हुन् । बेपत्ता हुनेमा भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान छन् ।

मेयर साहका अनुसार स्थानीयले किशोरीहरूलाई मंगलबार दिउँसो नजिकै अजगेवा गाउँको खेतमा घाँस काटिरहेको देखेकोमा त्यसपछि उनीहरू बेपत्ता भएका थिए । उनीहरू बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ जान लागेको साहले जानकारी दिए ।

‘पारिपट्टिबाट भारतीय प्रहरीले समातेर राखेको छ, यताबाट प्रहरी गएपछि केहीबेरमा उनीहरूलाई हस्तान्तरण गरिनेछ । त्यसपछि उनीहरूलाई घर–परिवारको जिम्मा लगाइन्छ,’ उनले भने ।

सम्बन्धित परिवारलाई भने उनीहरू कहाँ गए भन्ने जानकारी नै नभएको बेपत्तामध्ये एक किशोरीका काका मनोज पासवानले बताए ।

साँझ ७ बजेसम्म किशोरीहरू घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । भंगाहा प्रहरी चौकी सीतापुर, लोहरपट्टी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक राजेश घिमिरे नेतृत्वको टोलीले रातभर किशोरीहरूको खोजी गरेको थियो । प्रहरी र स्थानीयले मिलेर रातभर खोजी गरेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।


प्रतिकृया दिनुहोस