२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

मौसममा सुधार आउन अझै केही दिन लाग्ने,अनावश्यक बाहिर ननिस्कन चिकित्सककाे सुझाव

- विशेष खबर शनिबार १४, चैत २०७७ १०:५४

मौसममा सुधार आउन अझै केही दिन लाग्ने,अनावश्यक बाहिर ननिस्कन चिकित्सककाे सुझाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशभरको मौसममा सुधार आउन केही दिन लाग्न सक्ने बताएको छ ।

शुक्रबार मध्याह्नपछि काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको थियो । क्षणभरमै तुवाँलोले भरिएपछि भिजिबिलिटी स्वाट्टै घटेको थियो । त्यस्तै मौसममा खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्नपछि हवाई सेवा रोकियो । घरबाहिर निस्किएका सर्वसाधारणले आँखा पोलेको महसुस गरे।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भएकामा ‘घातक’ भनेको छ । उपत्यकामा शुक्रबार एक्यूआई ४७० सम्म रेकर्ड हुन पुग्यो । आईक्यू एयरका अनुसार शनिबार बिहान साढे १० बजे काठमाडौंको एक्यूआई ४१० रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले नेपालका अधिकांश जिल्लामा डढेलो लागेको र त्यसबाट सिर्जित प्रदूषणको कणहरू वायुमण्डलमा नै जम्मा भएको बताएको छ । महाशाखाले विज्ञप्ति जारी गरी भनेको छ, 'हाल नेपालको धेरैजसो स्थानहरुको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कणहरु छरिन पाउँदैन र वायुमण्डलमा नै तैरिरहने हुन्छ। हाल नेपालका अधिकांश जिल्लाहरूमा डढेलो लागिरहेको र सोबाट सिर्जित प्रदूषणको कणहरु वायुमण्डलमा नै जम्मा भएकोले धेरै जसो स्थानहरुमा (मुख्यतया उपत्यकाहरूमा) प्रदूषण बढ्न गई पारदर्शिता पनि घटेको छ।'

वायुमण्डल अझै केही दिनसम्म स्थिर रहने भएकाले मौसममा सुधार हुन केही दिन लाग्ने महाशाखाले जनाएको छ । प्रदूषणका कारण आँखा पोल्ले श्वासप्रश्वासमा समस्या देखिने भएकाले सकभर बाहिर ननिस्कन र निस्कनै परे मास्क लगाउन चिकित्सकहरूको सुझाव छ ।


#वायुमण्डल # प्रदूषण

प्रतिकृया दिनुहोस