२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

भारतमा फेरि बढ्दै काेराेना, एकैदिन थपिए ४४ हजार संक्रमित

एजेन्सी सोमबार ०९, चैत २०७७ ०८:४८

भारतमा फेरि बढ्दै काेराेना, एकैदिन थपिए ४४ हजार संक्रमित

नयाँदिल्ली । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार एकै दिन करिब ४४ हजार संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८ सय ४६ जना भाइरसबाट संक्रमित भएका छन् । सोही अवधिमा २२ हजार ९ सय ५६ जना भने संक्रमणमुक्त भएका जनाइएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या एक करोड १५ लाख ९९ हजार १ सय ३० पुगेको छ ।

भाइरसका कारण आइतबार साँझसम्म एक लाख ५९ हजार ७ सय ५५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीमध्ये १ सय ९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यो ९७ दिनयता भाइरसका कारण एकैदिन मृत्यु हुनेको उच्च संख्या हो ।

भारतमा हालसम्म ४ करोड ४६ लाख ३ हजार ८ सय ४१ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ ।


प्रतिकृया दिनुहोस