- विशेष खबर आइतबार ०८, चैत २०७७ १२:१६
काठमाडौं । काठमाडौंको हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै आइतबारबाट देशभर फागु पर्व (होली) सुरु भएको छ। आइतबार बिहान हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो ।
पर्व परम्पराअनुसार फाल्गुनशुक्ल अष्टमीदेखि पूर्णिमासम्म ८ दिन फागु मनाउने चलन छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ । पहिले–पहिले आठै दिन धुमधामसँग एकाआपसमा रंग, अबिर छ्यापी होली खेलेर वसन्तऋतुको स्वागत गर्ने चलन रहेको संस्कृतिविद्हरू बताउँछन् । पछिल्ला दिन भने पूर्णिमाको दिन मात्रै फागु मनाउने गरिन्छ । यसअनुसार यसपालि चैत १५ गते फागु पर्छ ।
पर्वका अवसरमा हनुमानढोका दरबारको मोहनकाली चोकमा राजा प्रताप मल्लको पालामा बनाइएका श्रीकृष्ण र अर्धनग्न गोपिनीका मूर्तिहरू सजाई अबिर छर्किई पूजा गर्ने चलन छ । पौराणिक मान्यताअनुसार यमुना नदीमा गोपिनीहरू निर्वस्त्र भई नुहाइराखेका थिए ।
त्यसै बेला श्रीकृष्णले गोपिनीका लुगा उठाएर नदी किनारको रुखको हाँगामा झुन्ड्याई बाँसुरी बजाउन थाले । गोपिनीले आफ्नो लुगा पाउन बिन्तीभाउ गर्दा पनि केही लागेन । कृष्णले निर्वस्त्र नुहाएकामा प्रायश्चित् गरेपछि मात्र लुगा दिए । श्रीकृष्णको त्यसै ‘रासलीला’को स्मरणमा गोपिनीहरूको लुगाको प्रतीकस्वरूप रंगीचंगी कपडाका टुक्रा झुन्ड्याई मयलको हाँगा गाड्ने प्रचलन रहेको कथन छ ।
चीर गाडिसएँगै हनुमान ढोका दरबार क्षेत्रमा गुरुजुको पल्टनले तोप पडाई हर्षबढाइँ गर्ने र अबिर छर्किई होली पर्वको स्वागत गरेको छ । होली पूर्णिमाको भोलिपल्टदेखि वसन्तऋतु लाग्दछ । यसैले वसन्तऋतुको आगमनसँगै मनाइने यस पर्वलाई मदनोत्सव भन्ने पनि गरिन्छ ।
पौराणिक कथनअनुसार हिरण्यकसिपुले आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर आगोले विष्णुका भक्त प्रह्लादलाई छोएन । बरु होलिका नै भस्म भइन् ।
यसरी होलिकारूपी पापवृत्ति जलेर भस्म भएको सम्झनामा प्रत्येक वर्ष फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको प्रतीक चीरदाह गर्ने परम्परा रहेको विश्वास गरिन्छ । तराईमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने चलन छ ।
प्रतिकृया दिनुहोस