२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

कर उठाउने नगरपालिकाले फोहर उठाउँदैन

- रासस बिहिबार ०५, चैत २०७७ ०३:११

कर उठाउने नगरपालिकाले फोहर उठाउँदैन

जलेश्वर । जलेश्वर नगरपालिकाले फोहर नउठाएको यहाँका बासिन्दाले  गुनासो गरेका छन् । फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि  बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ ।  नगरपालिकाले सफाइमा चासो नदेखाएको स्थानिय सुरेश साह सोनारले बताए । 

उनले नगरपालिकाले सरसफाइकै नाममा वर्षेनी लाखाैं रकम छुट्याउने र जनताबाट समेत लाखौ रकम कर लिएर पनि नगरको उचित सरसफाइ नगरेकोे आरोप लगाए । 

तराई–मधेशकै सबभन्दा पुरानो सदरमुकाममध्येकाे एक जलेश्वर अझैपनि चौतर्फी समुचित विकासको पर्खाइमा रहेको नागरिक समाजका अगुवा विजयकुमार गुप्ताको भनाइ छ । उनका अनुसार जलेश्वरकै विकासको नाममा वर्षेनी करोडौं रकम विनियोजन हुँदै आए पनि यहाँ विकासको अनुभूति हुनसकेको छैन । 

जिल्लामा १५ स्थानीय तह कायम भए पनि जिल्लास्तरीय प्रमुख सरकारी कार्यालय सदरमुकाममै छन् । ती सरकारी कार्यालयकै आसपासमा फोहरको डङ्गुर देखिएको स्थानीयवासी लक्ष्मीकुमार साहले बताए ।  उनले जलेश्वरबासी २४ सै घण्टा फोहरमा बस्न बाध्य भएको र नाकमुख थुनेर हिँड्नु परेको गुनासो गरे ।  

जिल्ला अदालत,कारागार, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, हुलाक, जिल्ला प्रशासन, जिल्ला समन्वय लगायतका सरकारी कार्यालयका आसपासमै फोहरको डङ्गुर छ। 

विसं २०२९ मा स्थापना भएको नगरपालिकाले अहिलेसम्म नगरको फोहरसमेत उचित व्यवस्थापन गर्न सकेको छैन । अन्य विकासको गति त झनै पछाडि रहेको स्थानीयवासीको आरोप छ। नगरपालिकालाई पटकपटक फोहर हटाउन आग्रह गर्र्दै आउँदा पनि सुनुवाई नभएको स्थानीयवासी गुनासो छ ।  

बजार क्षेत्रका ढल बजारबासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेका छ । ढलमा खानेपानीका बोतल,प्लास्टिकलगायतका फोहरका डङ्गुरले ढल पूर्णरूपमा बन्द भएका छन् । 


# जलेश्वर नगरपालिका

प्रतिकृया दिनुहोस