२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

छाेराछाेरीसहित कर्णालीमा हामफालेकी सुकीकाे गर्भमा ४ महिने शिशु, सबैकाे डुबेर मृत्यु भएकाे रिपाेर्ट

- विशेष खबर बिहिबार ०५, चैत २०७७ ०८:५६

छाेराछाेरीसहित कर्णालीमा हामफालेकी सुकीकाे गर्भमा ४ महिने शिशु, सबैकाे डुबेर मृत्यु भएकाे रिपाेर्ट

दैलेख । आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

जिल्ला अस्पतालले मृतक सबैको पोस्टमार्टम गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ ।  

सुकीले अघिल्लो आइतबार छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् । रिपोर्टअनुसार सुकीको गर्भमा ४ महिनाको शिशुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गर्भपतन गर्ने विषयमा सुकीका श्रीमान् मानसिंहसँग विवाद भइरहेको थियो । मानसिंहले परपुरुषसँग सम्बन्ध भएको आरोप लगाउँदै सुकीलाई पटक–पटक यातनासमेत दिने गरेका थिए ।

घटनाको दुई साताअघि दिदी नाता पर्ने नैना थापाले सुकीलाई केही रकम सापटी दिएकी थिइन् । ‘सापटीकै पैसाले श्रीमान्ले दिनदिनै मदिरा खाएर कुट्ने गरेकाले जन्मिएको बच्चाले पनि दुःख पाउँछ भन्दै उनले आत्महत्या गरेकी हुन सक्छिन्,’ उनले भनिन्, ‘लामो समयदेखि आफू श्रीमान्बाट पीडित भएको कुरा उनले मसँग पनि बताएकी थिइन् ।’

घटनालाई लिएर दैलेख र अछाममा फरक–फरक मुद्दा दर्ता भएको छ । अछामका प्रहरी प्रमुख डीएसपी तुल्सीराम अर्यालले शव फेला परेपछिको अनुसन्धान अछाममा र त्यसभन्दा अघिको छानबिन दैलेखमा हुने बताए । दैलेख प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जिल्लामा आत्महत्या दुरुत्साहनको मुद्दा मात्रै चल्ने स्पष्ट पारे । जसअनुसार मृत्युसम्बन्धी मुद्दा अछाममा हेरिने भएको हो । मृतकका आफन्तले मंगलबार उजुरी दर्ता गराएका छन् ।

 


प्रतिकृया दिनुहोस