शुक्रबार २१, चैत २०७६ ०७:५६
गाेकुलेश्वर । दार्चुलाकाे शैल्यशिखर नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २५ लाखको कोष बनाएकाे छ । नगरकार्यपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको नगर प्रमुख अमरसिँह धामीले बताए।
प्रदेश सरकारबाट प्राप्त ४ लाखमा नगरपालिकाले २१ लाख थप गरेर २५ लाखको कोष खडा गरि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, सावधानी, जनचेतनामुलक कार्यक्रम गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए।
उक्त कोषमा नगरकार्यपालिका पदाधिकारीको तीन दिनको बैठक भत्ता, नगरपालिकाबाट नियुक्त गरिएका शिक्षक तथा कर्मचारीको मासिक तलबको तीन दिन बराबरको रकम जम्मा गर्न निर्णय गरिएको छ । साथै अन्य उद्योगी, व्यापारी, संघसंस्थाहरुलाई समेत सहयोग गर्न आग्रह गरिएको छ । नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि खटिने कर्मचारीहरुलाइ तलबको ५० देखि ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय समेत गरेको छ ।
नगरपालिकाको विषेश कार्यदलको शुक्रबार बसेको बैठकले अन्य चार वटा निर्णय गरेको छ । कोरोनासंग सम्बन्धित नगरपालिकाका बिरामीहरुलाई गोकुलेश्वर आउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ । नगरपालिका भित्रका नागरिकलाई सहजताका लागि नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी गरेको हो । साथै नगरपालिकाभित्रका नागरिक उपचारका लागि बाहिर जानका लागि ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा प्रदान गरिने छ ।
भारतको धारचुला तथा झुलाघाट लगायतका विभिन्न स्थानमा अलपत्र परेका शैल्यशिखर नगरपालिकाका नागरिकहरुलाई उद्वार गरि नगरपालिकाको क्वारेन्टाइनमा राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
बैठकले वडा नम्बर १ बलाँचस्थित चाइना गेजुवा कम्पनीको प्रयोगविहीन एम्बुलेन्स नगरपालिकालाई हस्तान्तरण गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले काेराेना संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण दैनिक गुजरा चलाउन असमर्थलाई राहत स्वरूप खाद्यान्नसँगै नुन समेत विवरण गर्ने निर्णय गरेको छ । खाद्यान्नका अतिरिक्त नको समेत अभाव हुने देखिएका कारण उनिहरुलाई नुन वितरण गर्ने निर्णय गरिएको नगर प्रमुख धामीले बताए ।
मजदुरलाई खाद्यान्नका अतिरिक्त खाने नुन वितरण गर्न गोकुलेश्वरमा रहेको साल्टट्रेडिङलाई अनुरोध गर्ने र आवश्यकता अनुसार जिल्ला प्रशासनलाई समेत सिफारिस गरी माग गर्ने निर्णय गरिएको उनले बताए।
यस्तै बैठकले अर्थ मन्त्रालयको चैत १९ मा प्राप्त पत्र अनुसार राहत वितरण सम्बन्धी नमुना मापदण्ड अनुसार सबै वडाहरुबाट तथ्याङ्क संकलन गर्ने र सोही मापदण्डको आधारमा सम्बन्धित वडाहरुलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको उनको भनाई छ ।
यसैगरी नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वर र वडा नम्बर १ बलाचमा स्थापना गरिएको क्वारेन्टाइनमा सुरक्षा जिम्मेबारी ईलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई दिने निर्णय गरिएको छ ।
कोरोना भाईरसको नियन्त्रणका लागी क्वारेन्टाइन, हेल्थडेस्क, स्वास्थ्य संस्थाहरु आइसोलेसनका लागी चाहिने अति आवश्यक औषधी तथा औषधी लगायत अन्य सामग्रीहरु खरिद गर्ने समेत निर्णय गरिएको नगर प्रमुख धामीले बताए ।
बैठकले कोरोना भाईरस संक्रमणको रोकथामका लागी सरकारले थप गरेको दोस्रो पटकको लकडाउनको पुर्णरुपमा पालना गर्नका लागी ईलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस