२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

सुदूरपश्चिममा डेढ लाखले लगाए कोरोनाविरुद्धको खोप

- रासस सोमबार ०२, चैत २०७७ ०८:०३

सुदूरपश्चिममा डेढ लाखले लगाए कोरोनाविरुद्धको खोप

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा सुदुरपश्चिमका नौ वटै जिल्लामा एक लाख ४९ हजार ५७९ लाई कोरोनाविरुद्धको खोप लगाइएको हो ।

पहिलो चरणमा कारोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव बाहन र एम्बुलेन्समा खटिने कर्मचारी गरी गत माघ १४ गतेदेखि २४ गतेसम्म १४ हजार ८८५ लाई खोप लगाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी फागुन २ देखि १० गतेसम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत यहाँका नौवटै जिल्लाका २३ हजार ४१७ लाई कोरोना विरुद्धको खोप लगाइएको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिएका छन् ।

फागु्न २३ देखि २९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा एक लाख ११ हजार २७७ जनालाई खोप लगाएको छ ।  सबैभन्दा बढी कैलालीमा ४० हजार ३०१ जना, कञ्चनपुरमा २४ हजार ८६४, डोटीमा १४ हजार ३५७, बैतडीमा १४ हजार ९६ जनालाई खोप लगाइएको छ ।

त्यसैगरी अछाममा १३ हजार ८०५, बझाङमा १३ हजार ७३५, डडेल्लधुरामा १० हजार ३४०, दार्चुलामा नौ हजार ८८६ र बाजुरामा आठ हजार १९५ लाई खोप लगाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण अधिकृत हेमराज जोशीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उपलब्ध खोप यहाँका सबै जिल्लामा लगाइएको बताए । 'पछिल्लो चरणमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइएको छ' उनले भने, 'अहिले लगाइएका सबैलाई आगामी वैशाखमा दोस्रो डोज लगाउने भनिएको छ ।'

त्यसैगरी निर्देशनालयले कैलाली, कञ्चनपुर, डोटी र अछाममा कोभिड–१९ को नमूना सकंलन सञ्चालन समेत भइरहेको जाेशीले बताए । नमूना सकंलन गर्दा कैलालीमा तीन र कञ्चनपुरमा आइतबार एक जनालाई कोरोना पोजेटिभ देखिएको जोशीले जानकारी दिए । 'अछाम र डोटीमा नमूना सकंलन चलिरहेको छ', उनले भने, 'निर्देशनालयले स्वास्थ्यसम्बन्धी अरु नियमित कार्यक्रम पनि अघि बढाएको छ ।'


#सुदूरपश्चिम प्रदेश #कोरोनाविरुद्धको खोप

प्रतिकृया दिनुहोस