२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

जलपन्छी गणनासम्बन्धी गोष्ठी सुरू

- रासस सोमबार ०२, चैत २०७७ ०७:३३

जलपन्छी गणनासम्बन्धी गोष्ठी सुरू

काठमाडाैं । जलपन्छी गणनाका बारेमा नयाँ नयाँ तरिका, प्रविधि र योजनाबारे जानकारी दिने ध्येयले  रुपन्देहीमा आजदेखि तेस्रो राष्ट्रिय गोष्ठी शुरु भएको छ । दुईदिने गोष्ठीमा स्थानीय चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।  

यसअघि सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमै र सन् २०१२ मा दोस्रो गोष्ठी चितवनमा भएको थियो । नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपक्षी गणना राष्ट्रियरुपमा संयोजन गर्दै आएको हिमाली प्रकृति संस्थाको आयोजित कार्यक्रममा चरा गणनाको तथ्याकं सकंलन, गणना र शुद्धताबारे पनि निष्कर्ष निकालिने जनाइएको छ । 
     
गोष्ठीमा कोशी टप्पु, हेटौँडा, चितवन, जनकपुर, काठमाडौँ, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत ठाउँबाट ३५ भन्दा बढी चराविद्को सहभागीता रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक डा तुल्सी सुवेदीले जानकारी दिइन् ।  सिमसार क्षेत्रको खस्किदाे अवस्था र संरक्षणका लागि गर्नुपर्ने स्थान विशेष कामबारे अन्तरक्रिया हुने सुवेदीले बताइन् । 

त्यस्तै पानी चराको अवस्था, चरा आवागमन सहजता र संरक्षणमा गर्नुपर्ने काम, जलपन्छी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा समेत जानकारी दिइनेछ । 
 
कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा हेमसागर बराल र वेटल्यान्ड इन्टरनेशनलका वरिष्ठ वैज्ञानिक डा तेज मुण्दकरले नेपाल, दक्षिण एसिया र विश्वमा पानी चराको अवस्था र संरक्षणका लागि गर्नुपर्ने कामबारे विशेष सम्बोधन गर्नुहुने आयोजकले जनाएको छ । 


#जलपन्छी

प्रतिकृया दिनुहोस