२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

४ लाखले गरे शिवरात्रिमा पशुपति दर्शन

शुक्रबार २८, फागुन २०७७ ०८:५६

४ लाखले गरे शिवरात्रिमा पशुपति दर्शन

काठमाडौँ । शिवरात्रिमा अपेक्षाभन्दा निकै कम दर्शनार्थीले पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषले यसपटक ८ देखि १० लाख जनासम्म दर्शनार्थी आउने अनुमान गरेकामा करिब ४ लाखको मात्रै उपस्थिति रहेको हो ।

कोरोना महामारीको असर पशुपति दर्शनमा पनि परेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डेले बताइन् । काठमाडौं उपत्यकाका दर्शनार्थीको संख्या बढे पनि देशका अन्य ठाउँबाट आउनेको संख्या घटेको उनको भनाइ छ ।

सुनको जलहरी राखिएकाले त्यसलाई हेर्नकै लागि पनि धेरै दर्शनार्थी आउँछन् भन्ने अनुमान कोषको थियो । तर त्यसको प्रभाव नपरेको पाण्डेले सुनाइन् । कोषले पशुपतिनाथ ज्योतिर्लिंगको पीठिकामा १०८ किलोको सुनको जलहरी राखेको थियो । स्थानीय, सम्पदा संरक्षण अभियन्ता र मन्दिरकै भण्डारीले समेत विरोध गर्दा पनि कोषले जलहरी राखेको थियो । सर्वोच्च अदालतले समेत जलहरी नराख्न अन्तरकालीन आदेश दिएको थियो ।

दर्शनका क्रममा स्वास्थ्य सुरक्षा मापदण्ड पालनालाई अनिवार्य गरिएको भनिए पनि त्यस्तो देखिँदैनथ्यो । अधिकांश दर्शनार्थीले मास्क लगाए पनि सेनिटाइजरको प्रयोग र भौतिक दूरीको पालना भने गरिएको देखिएन । यो वर्ष नागाबाबाको उपस्थितिसमेत गत वर्षको भन्दा निकै कम रहेको कोषले जनाएको छ । गुठी संस्थानले गत वर्ष ५ सय नागाबाबा भारतबाट आएको अनुमान गरेको थियो ।


प्रतिकृया दिनुहोस