२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

अमेरिकामा बेरोजगारिलाई महिनाको १४ सय डलरसम्म राहत दिन प्याकेज पारित

एजेन्सी बिहिबार २७, फागुन २०७७ ०९:१३

अमेरिकामा बेरोजगारिलाई महिनाको १४ सय डलरसम्म राहत दिन प्याकेज पारित

वासिङटन । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पनि राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई पारित गरेको छ।

बुधबार भएको मतदानमा  राहत प्याकेजका पक्षमा २२० र विपक्षमा २११ मत परेको थियो। संसदका दुबै सदनबाट आफ्नो प्रस्ताव पारित भएपछि राष्ट्रपति बाइडेनले ट्वीटरमा लेखेका छन्- हेल्प इज हियर!

उनले पारित भएको विधेयकमा शुक्रबार हस्ताक्षर गर्ने बताइएको छ।  यसअघि गत शनिबार माथिल्लो सदन सिनेटबाट राहत प्याकेज पारित भएको थियो। प्याकेजका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो। 

जनवरी २० मा पदभार सम्हालेपछि राष्ट्रपति बाइडेनले पहिलो पटक दुबै सदनबाट आफ्नो प्रस्ताव पारित गराएका छन्।  

यो राहत प्याकेजअन्तर्गत सरकारले रोजगारविहीन अमेरिकीहरूको खातामा साताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म  रकम जम्मा गरिदिने छ।  यसबाट कोरोनाभाइरसले शिथिल भएको अमेरिकी अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।

यसअघि गत वर्ष पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेर २० खर्ब डलरको राहत प्याकेज  ल्याएका थिए।

कोरोनाभाइरसले अमेरिकामा अहिलेसम्म ५ लाख २० हजार बढी मानिसको मृत्यु भएको छ भने लाखौंले रोजगारी गुमाएका छन्। गत वर्ष अमेरिकाको अर्थतन्त्र ३.५ प्रतिशतले खुम्चिएको थियो।


#कोरोना #अमेरिका

प्रतिकृया दिनुहोस