२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

आइतबारदेखि एक सातासम्म दिउँसोको समय नारायणगढ मुग्लिन सडक बन्द हुने

- विशेष खबर शनिबार २२, फागुन २०७७ ०६:४१

आइतबारदेखि एक सातासम्म दिउँसोको समय नारायणगढ मुग्लिन सडक बन्द हुने

चितवन । पहिरो नियन्त्रणको काम पुरा गर्न नारायणगढ मुग्लिन सडक आइतबारदेखि दिउँसोको समयमा फेरि बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी सविना रानाभाटका अनुसार आइतबारदेखि आउँदो शनिबार फागुन २९ गतेसम्म यो सडक बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने छ । एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका गाडी भने चल्न दिइने छ ।

कालिखोला चार किलो नजिक पहिरो नियन्त्रणको काम पुरा हुन सकेको छैन । ‘सोही ठाउँमा काम गर्न सडक बन्द गर्न लागिएको हो । भिरमा अड्केका ढुंगा, माटो र खस्ने सम्भावना भएका सबै पदार्थ झारेर सकेपछि बल्ल पहिरो नियन्त्रणको काम गर्नु पर्ने हुन्छ । गाडी खुला राखेर यो काम गर्न सम्भव हुँदैन । त्यसैले एक हप्ताका लागि दिउँसोको समयमा झण्डै साढे चार घण्टा गाडी रोक्नु परेको हो,’ सूचना अधिकारी रानाभाटले भनिन् ।

नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो । यो बाटो बन्द हुँदा पूर्व र पश्चिमबाट काठमाडौं जाने आउने यात्रु बस, निजी गाडी र मालवाहक ट्रकहरुलाई मर्का पर्दछ । सो सडक हुँदै दिनहुँ १० हजारको हाराहारीमा गाडीहरु ओहर दोहर हुने गर्दछन् । पहिला साढे ५ मिटर चौढाइ यो सडक हाल एसियाली मापदण्ड अनुरुपको ९ देखि ११ मिटर फराकिलो दुई लेनको भएको छ ।

सडक फराकिलो गर्न ठाउँ ठाउँमा पहाड काट्नु परेको थियो । पहाड काटेको ठाउँमा पहिरो जाने समस्या सुरु भएको थियो । ६ वर्षअघि सुरु भएको सडक विस्तारको काम सकिएको तीन वर्ष मात्रै भएको छ । तर त्यसपछि पनि पहिरोले हरेक वर्षायाममा दुःख दिँदै आएको छ । कूल ३६ किलो मिटर लम्बाइको सडकमा विस्तारपछि २९ ठाउँमा पहिरोको समस्या सुरु भएको थियो । अरु ठाउँमा काम सकिए पनि एक ठाउँमा बाँकी नै छ ।

यो ठाउँमा गएको वर्षायाममा पनि पहिरो आएर सडक बन्द हुने समस्या सुरु भएको थियो । ‘हामीले एक हप्ताका लागि गाडी बन्द गरेर काम गर्दै छौं । कामदारहरु सकेसम्म र मिलेसम्म धेरै खटाएका छौं । त्यो बेलासम्ममाथि जम्मा भएका ढुंगा, माटो सबै झार्ने छौं । आशा छ यो काम सक्न हप्ता दिन पनि लाग्दैन,’ रानाभाटले भनिन् । त्यसपछि पहिरो नियन्त्रणका लागि काम गर्न गाडी रोक्न नपर्ने उनले बताइन् ।


#नारायणगढ मुग्लिन सडक

प्रतिकृया दिनुहोस