२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

फेवातालको चार किल्ला तोकियो, नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

- रासस आइतबार १६, फागुन २०७७ ०५:३५

फेवातालको चार किल्ला तोकियो, नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

पाेखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाकंन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।

समितिले तालको क्षेत्रफल यकीन गरी सघींय सरकारलाई सिफारिस गरेकामा गत फागुन ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सो सम्बन्धमा निर्णय गरेपछि गण्डकी प्रदेश सरकारले आज समितिको प्रतिवेदन पोखरामा सार्वजनिक गरेको हो । नयाँ सीमाकंनअनुसार फेवाताल सीमारेखाको परिधि १८ किलोमिटर हुनेछ । फेवातालको चार किल्ला पूर्वमा ‘ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौँदी–चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम गरिएको छ ।

यसैगरी फेवातालको तल्लो तटीय क्षेत्र (ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतारा, सेदी, खपौँदी, लामीडाँडा, अनदुसमेतको क्षेत्र) मा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सिमाना मान्ने र फेवातालको मुहानतर्फ मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पन खोला पार गरी भकुण्डेखोलाको अन्तिम घुम्ती नजिक हुँदै माझथुम ढिस्कोको दक्षिणी भागलाई छोई पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेटी पामे घाँटी छिना मोटरबाटोसम्म कायम गरिएको समितिका संयोजक पुण्यप्रसाद पौडेलले जानकारी दिए ।

विश्वका १३ औँ सुन्दर तालमा पर्ने फेवाताल प्राकृतिक तथा मानवीय कारणबाट बर्सेनि अतिक्रमित हुँदै गएकाले तालको संरक्षणका लागि सर्वोच्च अदालतले पटकपटक सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश कार्यान्वयनका लागि सरकारले जिल्ला विकास समिति कास्कीका पूर्व सभापतिसमेत रहेका पौडेलेको संयोजकत्वमा गत कात्तिकमा चार किल्ला निर्धारण तथा सीमाकंन समिति गठन गरेको थियो ।

फेवातालको चार किल्ला निर्धारण, सीमाकंन तथा नक्साकंन गर्न तथा दीर्घकालीन संरक्षण तथा समुचित प्रयोग गर्न सुझावसमेत दिन गठित सो समितिले गत कात्तिक २८ गतेदेखि काम शुरु गरेकामा निर्धारित समयभित्रमा काम सम्पन्न गरी प्रदेश सरकारलाई  प्रतिवदेन बुझाएको थियो । 

यही फागुन २ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिले आफूलाई पेश गरेको प्रतिवेदन सङ्घीय मन्त्रिपरिषद्बाट निर्णयका लागि हस्तान्तरण गरेका हुन् ।

यसअघि पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने संयोकत्वमा गठित आयोगले विसं २०६९ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई फेवातालको क्षेत्रफल छ दशमलव ५४ वर्ग किमी (१२ हजार ८७४ रोपनी) रहेको अध्ययन प्रतिवेदन बुझाएको थियो । यसैगरी विसं २०३८ मा युएनडिपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल पाँच दशमलव आठ (११ हजार ४०० रोपनी) देखाएको थियो ।

चार किल्ला निर्धारण तथा सीमाकंन समितिका संयोजक पौडेलले समितिले कुनै एक मात्र आधारमा केन्द्रीत रहेर फेवातालको चार किल्ला निर्धारण तथा सीमाकंन गर्न सम्भव नदेखिएकाले विभिन्न आधारलाई लिएर काम गरेको बताए ।

 


#फेवाताल

प्रतिकृया दिनुहोस