२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

अस्ट्रेलियामा फेसबुकले समाचार सामग्रीमाथि लगाएको रोक हटाउने

एजेन्सी मङ्गलबार ११, फागुन २०७७ ०६:०४

अस्ट्रेलियामा फेसबुकले समाचार सामग्रीमाथि लगाएको रोक हटाउने

सिड्नी । सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा समाचार सामग्रीमाथि लगाएको रोक हटाउने भएको छ । अस्ट्रेलियाका ट्रेजरर जोस फ्राइडेनबर्गका अनुसार सरकारको प्रस्तावित कानुनमा केही संशोधन गर्ने भएपछि केही दिनमै प्रयोगकर्ताका लागि समाचार सामग्री दिन फेसबुक तयार भएको हो । 

अस्ट्रेलिया सरकारले फेसबुक र गुगलमा उपलब्ध हुने समाचारको पैसा तिर्नुपर्ने नियम लगाउने मिडिया कोड संसद्‌बाट पारित गर्ने बताइरहेको बेला फेसबुकले सबै प्लेटफर्मबाट समाचार सामग्री हटाउने निर्णय गरेको थियो ।

फेसबुकको पछिल्लो कदमसँगै बिहीबारदेखि अस्ट्रेलियाका समाचार संस्थाको अपडेट फेसबुकमा उपलब्ध हुन छोडेको छ । अस्ट्रेलियाका फेसबुक प्रयोगकर्तामाझ अस्ट्रेलियाली समाचार संस्थाका समाचार मात्र नभएर बीबीसी, न्युयोर्क टाइम्सलगायत विश्वका अन्य प्रतिष्ठित समाचार संस्थाको समेत अपडेट बन्द गरिएको छ ।

बीबीसीका अनुसार सरकारले प्रस्ताव गरेको मिडिया कोडअनुसार फेसबुक, गुगलले यहाँका पत्रकारले उत्पादन गरेको समाचार आफ्नो प्लेटफर्ममा सेयर भएबापत् निश्चित रकम तिर्नका लागि सम्बन्धित समाचार संस्थासँग सम्झौता गर्नुपर्नेछ । यदि सम्झौता सफल नभए र कानुन तोडेको पाइएमा १ करोड डलरसम्म जरिवाना हुने वा स्थानीय बजार रकमको १० प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था थियो।

अस्ट्रेलियाले केही समयअघिदेखि नै ‘न्युज मिडिया बार्गेनिङ कोड’ लाई कानुनी हैसियत दिइने बताउँदै आएको थियो । उक्त कोडमा स्थानीय समाचार संस्थाले प्रकाशन गरेको समाचारलाई फेसबुक, गुगलजस्ता डिजिटल मिडियामा प्रयोग भएबापत् सम्झौता गरेर निश्चित रकम तिर्नुपर्ने व्यवस्था छ ।

उक्त कानुन तल्लो सदनबाट पारितसमेत भइसकेको छ । यसअघि फेसबुकले अस्ट्रेलियाली समाचार संस्थासँग सम्झौता प्रयास गरिरहेको समाचार सार्वजनिक भएको थियो । गुगलले भने केही ठूला समाचार संस्थासँग यसबारे सहमति गरिसकेको बताइएको छ ।


#फेसबुक #अस्ट्रेलिया

प्रतिकृया दिनुहोस