२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

कोरोनाको दोस्रो डोजको खोप ८ देखि १२ हप्तापछि लगाउन सुझाव

- विशेष खबर सोमबार ०३, फागुन २०७७ ०६:३९

कोरोनाको दोस्रो डोजको खोप ८ देखि १२ हप्तापछि लगाउन सुझाव

काठमाडौं । कोरोनाको दोस्रो डोजको खोप ८ देखि १२ हप्तापछि लगाउन खोप विज्ञको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएको छ । 

सोमबार राजधानीमा स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको ‘कोभिड–१९ र कोभिसिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तक्रिया कार्यक्रममा खोप विज्ञ डा. श्यामराज उप्रेतीले खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्तापछि लगाउँदा बढी प्रभावकारी भएको अनुसन्धानमा देखिएको बताए ।

डा. उप्रेतीले भने,‘खोपका बारेमा विभिन्‍न अनुसन्धान भइरहेकोमा पहिलो खोप लगाएको जति बढी अन्तर भयो त्यति प्रभावकारी देखियो । यसका लागि मन्त्रालयलाई हामीले सिफारिस गरिएको गरेका छौँ ।’ यसअघि सरकारले पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज दिने निर्णय गरेको थियो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. झलक शर्माले पनि सिफारिस अनुसार मन्त्रालयले दोस्रो डोजको खोप लगाउने कुरामा निर्णय गरेपछि पहिलो खोप दिइएको ८ हप्तापछि मात्र दोस्रो खोप दिइने बताए । उनले कोभिसिल्ड खोप १६ वटा देशमा प्रयोग भइरहेकाले सुरक्षित रहेको र सुरक्षा तथा प्रभावकारितामा सफल भएकाले सबैले खोप लगाउन नडराउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले हालसम्म ३ वटा खोप उत्पादक कम्पनीले विभागमा आवदेन दिएको बताउँदै ती कम्पनीहरुका लागि थप आवश्यक कागजातका लागि पत्राचार गरिएको बताए ।

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले तोकिएको समय भन्दा खोप ल्याउनमा नेपाल अगाडी रहेको दाबी गरे । उनले भने,‘दोस्रो लटमा खोप छिट्टै आउनेछ । पहल भइरहेको छ ।’ मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले दोस्रो डोजको खोप ल्याउनका लागि सरकार कटिबद्ध रहेको बताए । उनले भने, ‘५५ वर्ष माथिका मानिसहरुलाई खोप दिन पाएका छैनौं । अब सबै मानिसहरुले पाऊन् भन्ने आशा छ । फागुन २४ गतेबाट समुदायस्तरमा खोप अभियान सञ्चालन गर्ने सोच छ ।’

त्यसैगरी, शुक्रराज ट्र्रोपिकल अस्पतालका चिकित्सक डा.अनुप बाँस्तोलाले कुनै पनि भाइरल इन्फेक्सनलाई रोक्न खोप प्रभावकारी भएको बताउँदै खोप लगाएका व्यक्तिले जनस्वास्थ्यका पालना गनुपर्ने आग्रह गरे । उनले भने,‘अहिले आमसभा भेलाहरु धेरै भइरहेका छन् सचेत हुनुपर्छ नत्र यसले कोरोनाको अर्को छाल ल्याउनसक्छ ।’


#काेराेना खाेप

प्रतिकृया दिनुहोस