२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

उत्तराखण्डको हिमनदी विस्फोटमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, ११ नेपालीको अवस्था अझै अज्ञात

एजेन्सी सोमबार ०३, फागुन २०७७ ११:२१

उत्तराखण्डको हिमनदी विस्फोटमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, ११ नेपालीको अवस्था अझै अज्ञात

नयाँदिल्ली । भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमनदी विस्फोटपछि मृत्यु हुनेको संख्या ५१ पुगेको छ । उद्धारका क्रममा आइतबार भेटिएका थप १२ शवसहित हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको चमोली जिल्ला प्रशासन कार्यालयको कन्ट्रोल रुमले जनाएको छ ।

१२ मध्ये ६ शव रैनी क्षेत्रबाट, ५ शव तपोवनस्थित एनटीपीसी परियोजनाको सुरुङबाट र अर्को एक शव रुद्रप्रयागमा नदी किनारमा फेला परेको जनाइएको छ । अधिकारीहरूका अनुसार आइतबार भेटिएका सबै शवको पहिचान भइसकेको छ, जसमा कोही पनि नेपाली छैनन् । यसअघि भेटिएका सबै शवको पहिचान भइसकेको छैन । प्रहरीका अनुसार हालसम्म २५ शवको मात्र पहिचान भएको छ । कुहिने डरले बरामद शवमध्ये पहिचान नभएकाको डीएनए नमुना राखेर प्रहरीले अन्तिम संस्कार गरिरहेको छ । हालसम्म शव र शरीरका विभिन्न अंगसहित ४१ वटाको अन्तिम संस्कार गरिएको बताइएको छ । तीमध्ये हराइरहेका नेपालीको शव भए/नभएको खुलेको छैन ।

उत्तराखण्डको जोशी मठ नजिक गत आइतबार हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुर्‍याएको हो । हिमनदी फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगेका छन् । त्यसैगरी बाढीले जोशी मठमा एउटा पुल पनि बगाएको बताइएको छ । बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ । त्यसमा पनि तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजना र एनटीपीसी जलविद्युत् परियोजनामा बढी क्षति पुगेको हो । निर्माणाधीन ऋषिगंगा परियोजनाको बाँध र सुरुङ पूर्ण रूपमा ध्वस्त भएको छ भने तपोवनस्थित एनटीपीसीको जलविद्युत् परियोजनाका दुईवटै सुरुङमा क्षति पुगेको छ । बाढीले एनटीपीसीको जलविद्युत् परियोजनाको दुई सुरुङ हिलो र ढुंगाले भरिएका थिए ।

हिमनदी विस्फोट भएसँगैको बाढीमा परेर ती परियोजनमा काम गर्ने मजदुर, कर्मचारी र स्थानीयसहित २ सयभन्दा बढी सम्पर्कविहीन भएका थिए । उत्तराखण्डको चमोली जिल्ला प्रहरीले गत सोमबार हराइरहेका १ सय ७५ जनाको सूची सार्वजनिक गरेको थियो । त्यसमा ११ जना नेपाली छन् । तिनीहरूको नाम उल्लेख भए पनि नेपालको ठेगाना खुलेको छैन । हराइरहेका नेपालीमध्ये ७ जना ऋषिगंगा जलविद्युत् आयोजनामा, ३ जना तपोवन जलविद्युत् आयोजनामा र एक जना रैणी गाउँमा मजदुरी गर्दै आएका थिए । तीमध्ये तपोवन आयोजनामा काम गर्ने सोहन चौधरीको मात्र नेपालको ठेगाना खुलाइएको छ । उनी कैलालीको टीकापुरका हुन् । प्रहरीले ऋषिगंगा परियोजनामा कार्यरत ५५ जना सम्पर्कविहीनको सूची सार्वजनिक गरेको छ तर उक्त सूचीमा कतिपयको थर, ठेगाना उल्लेख नगरिएको हुँदा थप नेपाली बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ ।

अझै पनि तपोवनस्थित एनटीपीसीको ठूलो सुरुङमा ३५ जनाभन्दा बढी कामदार थुनिएको प्रहरीले बताएको छ । उनीहरूको उद्धार प्रयास जारी छ । यद्यपि त्यहाँ थुनिएको साता दिन बितिसकेको हुँदा उनीहरू जीवितै रहने सम्भावना कम रहेको चमोली जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले बताए । सुरुङभित्र फसेका कामदारमा नेपाली भए/नभएको प्रस्ट छैन ।


#उत्तराखण्ड #हिमनदी विस्फोट

प्रतिकृया दिनुहोस