२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

कान्तिपुरका पत्रकार बडू सम्मानित

- विशेष खबर शनिबार ०१, फागुन २०७७ ०९:४१

कान्तिपुरका पत्रकार बडू सम्मानित

दार्चुला । दार्चुलामा कार्यरत कान्तिपुर मिडिया ग्रुपका पत्रकार मनोज बडू जयपृथ्वी बहादुर सिंह पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो साधारण सभाको अवसरमा कैलालीको गोदावरीमा शुक्रबार विशेष कार्यक्रमका बीच पत्रकार बडू सम्मानित भएका हुन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टद्धारा उक्त पुरस्कार हस्तान्तरण गरिएको हो । पुरस्कारको राशि नगद ११ हजार, सम्मान पत्र र दोसल्ला रहेको छ । 

दार्चुला जस्तो दुर्गम ठाउँमा रहेर विकट बस्तीका र सिमान्तकृत वर्गको हकहितका समस्या उजागर गर्न, राष्ट्रियताको सवाल, सुशासन प्रवर्द्धन, सामाजिक रुपान्तरणका लागि पत्रकारिताको माद्यमबाट उल्लेखनिय भूमिका निर्वाह गरेवाफत उक्त पुरुस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

एक दशकदेखि दर्गम क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार बडू मुख्य रुपमा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक, त्यहाका स्थानीयले भोग्नु परेका समस्याका सवालमा कलम चलाउदै आएका छन् । पुरस्कृत पत्रकार बडू नेपाल प्रेस युनियन दार्चुलाका अध्यक्ष समेत हुन् ।

त्यसै अवसरमा विभिन्न जिल्लाका पत्रकारहरुलाई विविध विधामा सम्मान गरिएको छ । जयपृथ्वी बहादुर सिह पुरस्कारबाट डोटीका पत्रकार खगेन्द्रबहादुर सिह, कैलालीकी पत्रकार उन्नति चौधरीलाई सम्मान गरेको छ । 

यस्तै कञ्चनपुरको रामबहादुर चन्दलाई सुदूरपश्चिम पत्रकारिता तारा सम्मान पुरस्कार, कञ्चनपुरको चित्रांग थापा र कैलालीका मनमोहन स्वाँरलाई अग्रज पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ ।

डडेलधुराका डिआर पन्तलाई लिलानाथ ओझा स्मृति पत्रकारिता पुरस्कार, बझांगका बसन्तप्रताप सिंहलाई कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार, बाजुराका प्रकाश बहादुर सिंहलाई जेपी जोशी पत्रकारिता पुरस्कार, कञ्चनपुरका दुर्गा उपाध्याय, बैतडीका तृप्ति शाही र अछामका गीता कुँवरलाई केआई सिंह पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव प्रेम चुनाराले बताएका छन् । 

यसैगरी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको नौ वटै शाखामध्ये दार्चुला शाखाले दार्चुलाका पत्रकारहरुको क्षमता विकास, प्रोत्साहन, स्वास्थ्य सुरक्षा लगायतका कार्यहरुमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै दार्चुला शाखालाई सम्मान गरिएको छ ।

सुदूरपश्चिमको सञ्चार गृहमध्ये एक दशकदेखि कैलाली जिल्लाबाट थारु भाषामा प्रकाशन हुन पहुरा दैनिकलाई सम्मान गरिएको सचिव चुनाराले जानकारी दिए ।


प्रतिकृया दिनुहोस